दमकमा माक्स नलगाई निस्कनेलाई अब कारवाही, सिडिओ कार्यालयको आयो नयाँ निर्देशन
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा लकडाउन खुकुलो हुँदै जाँदा सामाजिक दुरी कायम हुन छाडेको र माक्स समेत नलगाई हिड्ने प्रवृती बढेपछि यसमा कडाई गर्न शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मातहतका प्रहरी कार्यालयहरुलाई माक्स अनिवार्य लगाएर हिड्ने अवस्था सिर्जना गर्न निर्देशन दिएको बताईएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय तह सहित सबै कार्यालयहरुलाई सर्कुलर जारी गर्दै कोरोना संक्रमणबाट बच्न अधिकतम रुपमा सावधानी अपनाउनका लागि सर्कुलर नै जारी गरेको छ । जहाँ माक्स प्रयोग अनिवार्य रुपमा गर्न तथा गराउन भनिएको छ । मंगलवारदेखि झापा भर यसको अनुगमन र सचेतना शुरु भएको छ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णराज कोइरालले भने ।
यो हामीले जिल्लाबासी तथा सबैको सुरक्षाका लागि भनेका हौ, उनले भने । प्रहरी वा सरकारका लागि माक्स लगाउनु पर्ने र सावधानी अपनाउनु पर्ने होइन यो त आफ्नै लागि हो भनेर सबैले बुझिदिएमा हुन्थ्यो, उनको भनाई रहेको छ । आज बुधबारदेखि प्रहरीले माक्स प्रयोग गर्न थप कडाइ गर्दैछ ।
दमकमा पनि माक्स प्रयोग गर्नका लागि प्रहरीले सडकमा सर्वसाधरण तथा जो कोहिलाई पनि अनुरोध गर्ने र प्रयोग नगरेमा कार्वाही गर्ने जनाईएको छ । मंगलवार केहि ठाँउमा माक्सको प्रयोगको बिषयमा सचेत गराईएको र अब अनिवार्य माक्स प्रयोग गर्न प्रेरित गरिने बताईएको छ ।
हामीले मंगलवारदेखि नै अनिवार्य माक्स प्रयोग गराउनका लागि अभियान थालेका छौ र अब यसलाई कार्यन्वयन गराउछौ, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक बिजयराज पंण्डितले बताएकाछन् । यद्यपी दमकमा लकडाउनको कम पालना भएको र हेल्चेक्राई धेरै हुने गरेको आरोप लाग्दै आएको छ ।

