दमकमा कोराना संक्रमितको सख्या ११ पुग्यो, सोमबार थपिए १ जना
दमक/ झापाको दमकमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वैदेशिक रोजगारबाट झापाको दमकमा क्वारेन्टाइनमा रहेका १ जनामा कोरोना पोजेटिभ पाईएको हो । २१ जनाको पीसीआर जाँचका लागि पठाईएकोमा १ जनामा पोजेटिभ आएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यो संगै दमकमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । ८ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किसकेको पनि जनाईएको छ । दमकमा समुदायस्तरमा कोरोना संक्रमण नरहेकाले डराउने अवस्था नरहेको बताइन्छ ।
यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
यसैबीच नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
