दमकको सडकबाट उद्धार गरिएकी गर्भवती महिलाले छोरो पाईन
विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकचोक आकाशेपुल आसपासमा केहि दिनदेखि अलपत्र अवस्थामा देखिएकी एक गर्भवती महिलाको उद्धार भएको छ । केहि दिन सडकमा नै रात बिताएको देखेको र आफुहरु खाना समेत खुवाएको भएपनि गर्भवती रहेको भन्ने थाहा नपाएको असाहय मानव सेवा समितिकी अध्यक्ष चेतना निरौलाले बताउनु भयो ।
गर्भवती रहेको थाहा पाएपछि स्थानीय असाहय मानव सेवा समितिका पदाधिकारीहरुले दमक नगरपालिका उपप्रमुख गीता अधिकारीसंग समन्वय गरेर उद्धार गरेको पनि उहाँले बताउनु भएको छ । कस्को गर्भ हो भन्ने थाहा नभएको र महिला मानसिक रुपमा कमजोर रहेको जस्तो देखिएको पनि जनाईएको छ ।
सरकारी दमक अस्पतालमा उद्धार गरेर लगिएपछि नर्मल रुपमा महिलाले बच्चा जन्माएपछि उनलाई दमकको ’सेफ हाउस’ मा राखिएको छ । उनले दमक अस्पतालमा स्वस्थ छोरा जन्माएकीछन् र त्यहाँ बाट ‘डिस्चार्ज’ भएर अहिले नगरपालिकाको सेफ हाउसमा नै राखिएको छ, अधिकारीले भन्नुभयो ।
दमक नगरपालिकाकी उपप्रमुख एवं अस्पताल ब्यवस्थापन समिति संयोजक गीता अधिकारीका अनुसार आफन्तहरु कोहि पनि सम्पर्कमा नरहेका कारण तत्काल नगरपालिकाले बनाएको सेफ हाउसमा सुत्केरी महिलालाइ राखिएको हो । लामो समयदेखि सडकमा नै रहेको देखेका स्थानीयहरुले बताएकाछन् ।
यस बिषयमा इलाका प्रहरी कार्यालय दमकलाई पनि जानकारी गराईएको अधिकारीले जनाउनु भयो । सडकमा भेटिएका र अप्ठेरोमा परेका महिलाहरुको सुरक्षाका लागि दमक नगरपालिकाले सेफ हाउस बनाएर त्यहि राख्दै आएको छ । प्रहरीको सहयोग लिएर आफन्तहरु पत्ता लगाउने र आफन्त भेटिएको अवस्थामा आफन्तहरुलाई जिम्मा लगाईने अधिकारीले जनाउनु भयो ।
