२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ जनप्रतिनिधि र कर्मचारीहरु बीचको दुरी घटाउन तथा समन्वयका लागि आवश्यक रणनीतिको बिषयमा दमक नगरपालिकामा दूई दिने कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि र कर्मचारीहरुबीचको समन्वय नहुँदा पर्न सक्ने समस्या तथा अवरोधका बिषयहरुमा छलफल भएको बताईएको छ ।

दमक नगरपालिकाको २०७७/७८ को बजेट कार्यान्वयन तथा खर्चका मापदण्ड सम्बन्धि समेत गहन छलफल भएको थियो । जनप्रतिनिधि र कर्मचारीले अहिलेसम्म भएका कमीकमजोरीको बिषयमा आत्म समिक्षा गर्दै अब एक ढिक्का भएर जानु पर्नेमा जोड पनि दिएकाछन् ।

नयाँ आर्थिक बर्षको शुरुवात देखि नै नीति तथा कार्यक्रम एवं बजेटको परिधिमा रहेर सहज रुपमा काम गर्नका लागि आवश्यक रणनीतिक बनाउन तथा सहज रुपमा यसको कार्यन्वयनका लागि दूई दिने छलफल महत्वपुर्ण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जनताको काम गर्न निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो काम, कर्तब्य र अधिकार नभुलि काम गर्नु पर्ने जोड दिए । उनले सबैसंग समन्वय गरेर तथा एक अर्काको जिम्मेवारी नभुली काम गर्न पनि निर्देशन दिए ।