२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापामा कोरोना संक्रमतिमध्ये ३ सय ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार १२ हजार ८ सय ९ जनामा कोरोना परीक्षण गर्दा तीन सय ५१ जनालाई कोरोना संक्रमण देखिएको थियो । संक्रमितमध्ये ३ सय ४ जना उपचारपछि घर फर्किएका हुन् भने ४७ जना अझैं उपचाररत् छन् ।

१५ वटा स्थानीय तह रहेको झापामा पहिलोपटक मेचीनगरपालिकाको काँकरभिट्टास्थित सीमा क्षेत्रमा सुरक्षाका लागि खटिएका २० जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाह्रदशी गाउँपालिका २ र ३ मा गाउँपालिकाको ‘ट्राभल हिस्ट्री’ नभएका एक औषधि व्यवसायी र एक स्थानीय नेतालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय झापामा कोरोना संक्रमणको अवस्था बढ्दै गए पनि उपचारपछि निको भएर घर फर्कनेको संख्या धेरै छ । तर, कोरोना संक्रमण समुदायमा फैलिएको भन्दै सर्वसाधारण त्रसित हुन थालेका छन् । झापामा कोरोना संक्रमितमध्ये अधिकांश भारत लगायतका विभिन्न देशबाट आएका नागरिकहरु छन् ।

भारतको पश्चिम बंगालसंग सीमा जोडिएको पूर्बी नाका काँकरभिट्टासहित विहारसंग सीमा जोडिएको भद्रपुर, कुमरखोद, गौरीगञ्ज लगायतका स्थानबाट विदेशमा रहेका नेपालीहरु घर फर्कने क्रम तीब्र भएसंगै झापामा कोरोना संक्रमितको संख्या बढेको हो ।