२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखि त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा यो हप्ता चीनिमा प्रति केजि ५ देखि १० रुपिया ब्यवसायीले बढाएकाछन् । लकडाउनको समयमा चनामटरको भाउ बढ्यो र मूल्य सूचिमा भाउ बढेको हाले । दालको मूल्य पनि बढ्यो र त्यो पनि मूल्य सूचिमा टाँस गरे । बजार अनुगमन भएपछि मूल्य सूचि टाँस भएको थियो ।

लकडाउन नै जारी रहेको समयमा अधिकाँश खाद्य सामाग्रिको मूल्य घट्यो तर ब्यवसायीले त्यो मूल्य सूचि फेरबदल गरेनन् । त्यसैमा बेचिरहे । कहि कतैबाट अनुगमन हुन सकेन । ब्यवसायीहरुलाई पनि लकडाउनको मौकामा कमाउनु थियो । सबै ब्यवसायीले त्यसो गरेनन् होला तर अधिकाँशले गरे । अहिले पनि पसलमा मूल्य सूचि गएर हेर्ने हो भने उतिखेर बढेको मूल्य सूचि नै टाँस भएको छ ।

साना तथा खुद्रा ब्यवसायीले डिलरहरुले आफुहरुलाई मूल्य बढाएको तर डिलरमा अनुगमन नभएको बताउछन् । अहिले खाने तेल र चीनिमा मूल्य बढेको छ । सस्तिएको अन्य खाद्य सामाग्रि उपभोक्ताले पुरानै बढेको मूल्यमा किनिरहेकाछन् । यसले गर्दा दमक बजारमा मनपरी चलेको छ ।

केहि होलसेल ब्यवसायीहरु आफुहरुले चन्दा र मागेको बेला सहयोग गरेकाले कसैले पनि हल्लाउन नसक्ने र आफुहरु बर्षौदेखि दमकमा ब्यापार गरेको भन्दै धक्कु लगाउदै उपभोक्ता ठग्दैछन् । यसमा सत्यता कति छ त्यो तिनै ब्यापारी र बचावट गर्नेहरुले नै जानुन । तर यत्रो उपभोक्ता ठगिदा किन सरोकारवालाहरु मौन ? उपभोक्ताबादी संघसंस्थाहरु किन मौन ? आश्चर्यको बिषय चाहि यो हो ।

हार्डवेयर पसल होस या अन्य अधिकाँश पसलमा कोरोनाका कारण माल नआएको, ढुवानी खर्च बढि भएको भन्दै बढि मूल्यमा किनबेच चल्यो । बिना बिल तथा स्टमेट बिलमा करोडौको कारोबारहरु खुलमखुल्ला भयो । उपभोक्तालाई सामानको अभाव थियो बढि मूल्य लाएर भए पनि किन्यो । ब्यापारीलाई मौका यहि कमाउने सोच्यो मज्जाले ठग्यो ? आखिर कहाँबाट कस्ले कार्वाही गथ्र्यो र ?

अनि यस्तो जटिल अवस्थामा ब्यापारीहरुले यहि हो कमाउने मौका भनेर किन ठगेका होलान ? अलिकति पनि मानवीयता हुदैन यि ब्यापारीहरुमा ? यो प्रश्न पनि उब्जेको छ । मौका यहि हो र कमाउनु पर्छ भन्ने मानसिकतामा ब्यापारीहरु रहेजस्तो भान बजारको अवस्था देखेर हुन थालेको छ ।