दमकमा टेम्पो र सिटीमा कोचाकोच मान्छे ओसार्ने काम रोकिएला ? जोर बिजोर प्रणालीबाट सवारी चल्ने
समुदायमा कोरोना संक्रमण
विष्णुप्रसाद पोखरेल
दमक/ दमकमा समुदायमा कोरोना संक्रमण देखिएसंगै यसको रोकथामका लागि आवश्यक तयारी शुरु गरिएको छ । समुदायमा कोरोना नफैलियोस भनेर कोरोना संक्रमण भएकाहरुको सम्पर्कमा रहेकाहरुको पहिचान तथा उक्त क्षेत्रको सिल गर्ने निर्णयसंगै अन्य निर्णयहरु समेत भएकाछन् ।
वडाध्यक्ष प्रजापती सापकोटा अध्यक्ष रहेको यातायात तथा ट्राफिक व्यवस्थापन र शहरी शुदृढिकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो । दमकमा अब्यवस्थित र कोचाकोच रुपमा यात्रु हालेर टेम्पो र सिटी सफारी सञ्चालन हुँदै आएकाछन् ।
यो कार्य शनिवारदेखि रोकिने छ, सापकोटाले भने । उनका अनुसार यस बिषयमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र ट्राफिक कार्यालय दमकलाई जानकारी गराईएको छ । जोखिम न्यूनिकरणका लागि जोरबिजोर प्रणाली अनुसार सार्वजनिक सवारी साधन चल्नेछन्, सापकोटाले भने ।
दमकमा चरम रुपमा लापरवाही रहेको र कोरोना संक्रमणको जोखिम रहेको भन्दै आलोचना हुँदै आएको थियो । शुक्रबारदेखि समुदायमा कोरोना संक्रमण देखिएसंगै शुक्रबार दिउसो देखि दमक बजारमा चहलपहल कम हुँदै गएको छ ।
सामाजिक दु्री कायम राख्ने कुरा टेम्पो र सिटी तथा यात्रुवाहक सवारी साधनमा दमकमा लागु भएको थिएन । नगरपालिकाले भने बारम्बार सार्वजनिक सूचना निकालेर सामाजिक दुरी कायम राख्नका लागि अनुरोध भने गर्दै आएको छ ।
