२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा समुदायमा कोरोना संक्रमण फैलिएसंगै असुरक्षित बनेको छ । कोरोना संक्रमण समुदायसम्म आईपुगेको छ । नगरपालिकाले यो गम्भिरतालाई बुझेर लकडाउन गरेको छ । स्वाब परीक्षणलाई तिब्र बनाएको छ । थप संक्रमितहरुको संख्या बढ्न सक्ने भएकाले यसको रोकथाम तथा उपचारका लागि आवश्यक तयारीमा पनि जुटेको छ ।

सरकारी निकाय वा कसैको एक्लो प्रयासले कोरोना संक्रमण रोक्न सम्भव छैन । यसमा सबैको साथ र सहयोग आवश्यक छ । लकडाउनलाई पालना गरेर सबैले स्थानीय सरकारलाई सहयोग गर्नु पर्दछ । सम्भावित जोखिममा रहेकाहरुको सुरक्षामा चनाखो बन्नु पर्दछ ।

दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले सबैको साथ र सहयोगले नै दमकमा कोरोना संक्रमणको महामारीलाई नियण्त्रण लिन सकिन्छ । कोरोना संक्रमणबाट बचाउन  नगरपालिकाले नगरबासीको सुरक्षाका लागि सबै शक्ति प्रयोग गर्ने र गरिरहेको उनले बताए ।

दमक नगरपालिकाले कोरोना संक्रमणबाट नगरबासीलाई जोगाउनका लागि र यहि उपचारका लागि आवश्यक तयारी पनि थालेको बताईएको छ । क्वारेन्टाइनहरुको ब्यवस्थापनमा पनि थप सक्रियता देखाउन थालेको छ । नगर उपप्रमुख गीता अधिकारीका अनुसार आइसुलेसन वार्ड निर्माणको काम पनि अघि बढेको छ ।

आइतवारदेखि दमकमा कडा लकडाउन पनि शुरु भएको छ । संक्रमण रोक्नका लागि गरिएको प्रयास हो । यसलाई पुर्णं पालना गरेर सहयोग गर्नका लागि नगर प्रमुख रोमनाथ ओलीले सबै नगरबासीसंग आग्रह गरेकाछन् । लकडाउनको पालना गरेर कोरोना संक्रमणको जोखिमबाट दमकलाई जोगाउन उनको आग्रह छ ।