२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

 (चन्द्रा आचार्य, गौतम )

अगस्त ५ मा पुर्बी अफ्रिकाको बुरुन्डीबाट संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीहरुलाई लिएर डब्लुएफपी ले चार्टर गरेको जहाज उडानतालिका भन्दा ४ घण्टा ढिलो इथीयोपीयाको एडीस अबाबा तर्फ उड्यो । एडीस अबाबा आइपुग्दा कनेक्टींग जहाज छुटीसकेको थियो त्यसैले २ रात त्यहीँ स्काइ लाइट होटेलमा बास बस्नु प-याे ।

अगस्त ७ मा अफ्रिका इथीयोपीयाको एडीस अबाबाबाट दुबइ हुदै मलेसीयाको क्वालालम्पुर आए र एयरपोर्टको सामा – सामा होटेलमा बसियाे ।

यात्रा अनुभव;

कोरोना कहरकाे गम्भीर अवस्थामा चार्टर गरेको जहाज भएकाले सामाजिक दूरीको राम्रो व्यवस्था मिलाइएको थियो। तर जहाजमा खाना खान भने आँट आएन । हातमा सेनिटाइजर लगाएर आफैले ल्याएको खानेकुरा खाएँI

अगस्त ७ मा एडीस अबाबाबाट दुबइ हुदै मलेसीयातर्फ उड्न लाग्दा बुवाले फोन गर्नु भएको थियो । मैले मेरो उडान तालिका बताएँ, उहाँ हास्नु भयो तर बुवाको रुन्चे हँसाइले मेरो मन विचलित भयो। बुवाले छोरीलाई यात्रामा मनाेवल बढाएर साथ दिन चाहनुहुन्थ्यो ।

१२ वर्षको छोरा मनायुलाई सधैं उसकै रोजाइको चकलेट ल्याइदिने गरेकी थिए। यो पटक दुबईमा आइपुग्दा मलेसिया जाने जहाजको अनुमती पत्र थिएन त्यसैले किन्न पाइन । मैले छाेरालाई यसपटक मिठिमिठि नआउने सन्देश पठाएँ इमो मार्फत।
जहाज आफ्नै गतिमा हुँइकिइरहेको थियो जब जहाजको नक्सामा भारतकाे मुम्बई नजर प-याे मेरो मन भारी भएर अायाे। किन कि जहाज हाम्रो गन्तब्य काठमाडौँ तर्फ नगई पूर्व तर्फ माेडिएकाे थियो । म आफ्नो देश भन्दा ५ घण्टा पूर्बतर्फ गैरहेकी थिए। आँफुलाई कहिले घर पुगेर सन्तोषकाे श्वास लिउँ जस्तो भइ सकेकाेछ। परिस्थिति प्रतिकुल भए पछि कस्काे के लाग्दाे रहेछ र?

हवाई जहाजकाे लामो र पट्यारिलाे उडानमा मनमा धेरै उतार चडाव र उफान त आउने नै भए । म मनमा निरन्तर नानाथरी तर्कना गरेर एकाेहाेरीइ रहेकी थिएँ। म निःशब्द एकाेहाेराे झ्याल बाहिर अन्तरिक्षमा पंख लगाएर उडेछु । याे मन कहिलेकाहीँ ज्यादै सानो कुराले उत्साहित र हर्षित हुन्छ भने कहिलेकाहीँ एउटा सानो झटकाले पनि निकै हतोत्साही र दुःखीत बनाइदिन्छ। एउटा प्राप्तिले जीवनकै ठूलो खुशी दिएर जीवनलाई उत्सवमय बनाइ दिँदाे रहेछ। मैले मातृवात्सल्यता दिन पाउँदाकाे सुख घरिघरि नयनमा आउने आइरहन्छ। मुटुभरी माया दिने श्रीमानसङ हुने आकाशवाणीले पनि निकटता महसुस भइरहन्छ।

परिवारलाई केही हाेस्टेहैंसे हाेस भनेर मैले सुदूर भूगोललाई कर्मभूमि बनाँए। अविचलित र पूर्ण मन त कस्काे पाे हाेला र । तथापि मनमा बसेकाे प्रियतम र पुत्रलाई समेत छाडेर सुदुर भूगोलमा जानू पर्दा मनमा धेरै खल्लो भएको थियो । समयले धेरै टाढा पु-याए पनि अब मिलन निकट छ । निकटताकाे कल्पनाले याे मन प्रफुल्ल भएको छ। एक्लाे हुनु पर्दाकाे पीडा अनाैठाे हुँदाे रहेछ।

मैले दूर जगतमा सपिङग मलमा गएर मन परेको लुगा किनिन , पुस्तकालयमा गएर मन परेको लेखकले लेखेको गहकिलो पुस्तक किनिन । न कतै रेष्टुरेन्टमा गएर मनपसन्द भाेजन नै लिएँ ; किनकि परिवारबाट टाढा हुनुपर्दा म मन मनै खुशी थिइनँ । तर अर्को प्रसंगमा म निकै हर्षित पनि थिएँ। संयुक्त राष्ट्रसंघ जस्तो मर्यादित संस्थाकाे एउटा अंग बनेर मानवीय सेवामा समर्पित हुन पाउनु मेरालागि याैटा सुअबसर हाे।

याे मन पनि अचम्मकाे हुँदाे रहेछ । म जहाजमै रहेपनि याे मन अदृश्य भएर उतै कतै आफ्नाहरु नै भएको ठाउँ काष्ठमण्डप , दमकमा घरिघरि पुगिरहन्थ्याे।

जहाजको एकाेहाेराे लामो उडानले थकान पनि भएको छ। भुसुनाका भयले मनमा त्रास पनि तेत्तिकैछ। अरुबेला यात्रा अलि सहज नै लागेपनि यसपटक काे उडान भने एकदमै सकसपूर्ण लागेको छ।

मधु श्रावणीकाे महिना छ। मेरा मनमा धेरै कुराहरु सल्वलाई रहेका छन्। सुदुर गगनकाे लम्बे उडानमा प्रित कल्पनामा डुबुल्की मारिरहेछु। याे प्रिती पनि कस्तो अचम्म…. याे मन कता हराएछ……. मनमा उकुसमुकुस भएको थियो ।

मलेसिया आइपुग्नासाथ घरमा फोन गरे छाेरा दौडेर फोनमा बोल्न आए। म छोराको आँखामा चक्लेटको माग पढिरहेकी थिएँ उस्का अवाेध नयनमा मिठिकाे आस महसुस गरिरहेकी थिएँ। मैले बाेल्न चाहिन मनमनै “माफ गर ल” भने । “बाबु यसपटक चकलेट ल्याउन पाइन है” भनें छोराले के भनुन र “राम्रो सँग आउनु है माते” भनेर शिघ्र मिलनकाे लालच जनाए I

होटेलको अनुभव;

डर भन्दा ठुलो केहि रहेनछ, अहिले विश्व अदृश्य जीवाणु चपेटामा छ। होटेलमा बस्दा कुनै समान छुने आँटै आएनI आफैले ल्याएको तौलिया साबुन इत्यादि प्रयोग गरेI बिशेष गरि धेरै गाह्राे भयो खाना खान l तारे होटेलमा पकाएको खाना, त्यहाँका सुख, सुबिधा सबै मेरा लागि उपयोगहिन भए ।

खाना ल्याउनेले घन्टी बजाएपछि हात धोएर खाना ल्याउँथे, मेचमा राखेर फेरि हात धुन्थें , खाना छोपेका बिर्काहरु/ Rapper खोलि सकेर फेरी पनि हात धुन्थें अनि डराइ डराइ खाना खान्थें l खानामा बिशेष गरि काँचा नकाटेका फलफूल मगाएर आफैं काटेर खाएँ । यसमा पनि अदृश्य शत्रु छ कि उसमा पनि छ कि जतिवेला पनि डर मात्रै लागि रह्यो ।

उता पतिदेवलाई जागिरे मुजुङ्गाे कहिले आइपुग्छिन प्रतिक्षा थियो नै । यता म मिलनकाे छट्पटीमा हडबडाइ रहेकी थिएँ नै। तर हाम्रा हतारले हुन्छ र? उहाँका श्वर संकेतहरु सुनेर यात्रालाई सहज बनाइ रहें। परिवारका सदस्यहरुसंग बातचित पनि गरिरहें ।बेलाबेलामा कर्णप्रिय मधुर गानहरु पनि सुनी रहें तथापि ती सात दिन कटाउन मलाई धेरै बर्ष बिताउनु परे झैं लाग्याे नलनगाेस पनि कसरी ? मधु श्रावणीकाे मधुरता त मनमा कुँदिएकाेछ। याे युवा तन साेह्र श्रृङ्गारले श्रृङ्गारित छ…..! मन मिलनकाे कल्पनामा तरङ्गित भएको छ । मानाैं अाँखी झ्यालबाट सडकमा कसैको अाहट पर्खिरहेको छ…..!

यात्राको तयारी;

२ वटा झोला, करिब ५ केजी अटाउने भिर्ने झोलाको एउटा गोजीमा खाने कुरा, अर्को गोजीमा मास्क र पन्जा, बाहिरी गोजीमा हात धुने रक्सी र कागजे रुमाल, अर्को करिब २ केजी अटाउने झोलाको एउटा गोजीमा सुसांख्य (laptop) अर्को गोजीमा तौलिया, केही आबश्यक कपडाहरु र बाहिरी गोजीमा जहाजको टिकस र राहदानी।

यात्राबाट सिकाई;

एउटा झोला बोकेर सबै समान एकै ठाउमा राख्दा खानेकुरा कपडाहरुमा जथाभावी छुइन गई किटाणु सर्न सक्छ तर २ वटा बेग्लाबेग्लै झोलामा समान ल्याउँदा हात सफा नगरि कपडा र खाने कुरा छुन बाट जोगाउन सकिने रहेछ ।

स्वास्थ सहकर्मीले उमालेको पानीको बाफले स्वासप्रस्वास नलीको भाइरसलाइ मार्न सहयोग गर्छ अलि लामो स्वास तानेर लिएको बाफले फोक्सो सम्मकै भाइरसलाई पनि निस्क्रिय बनाउछ भन्नुभएको याद आयाे । होटेलमा बसुन्जेल दिनमा दुई पटक उम्लिएको पानीको बाफ लिएँ । यसो गर्दा आत्मबल बढ्दो रहेछ ।

काष्ठमण्डपमा सधैं इमिग्रेसन सकेर बाहिर निस्कदाँ एउटा न्यानो इच्छित अभिवादन लिनै पर्थ्याे ।तर यसपटक तेस्ताे भएन । भुसुनाले त्याे नयन मिलनमा भाँजाे हालिदियाे। यसपटक उहाँ (मतलव उहाँ ) सङ सुकेधारामा मात्रै नजरजुध्यो । सबै सरकारी प्रक्रिया पुरा गरि सरकारी सिम कार्ड लिएर हामी ट्याक्सी चढेर आलय तर्फ गयौं । सधैं ट्याक्सीमा चड्नासाथ मेरो शिरले कुमकाे सिरानी पाउथ्याे नै , अडेस लाएर घरमा आँउथे  । तर यो पटक पापी भुसुनाले उफ… मेरो शिर ट्याक्सीको सिसामा अडेसा लगाउन बाध्य बनायो । घर आइ पुगेर पनि कहाँ सुख र? अब १४ दिन एकान्त बास त बस्नु नै छ । तर अब मेरा पियाराहरुलाई हेर्दै, गफ गर्दै १४ दिनको एकात्मक बास १४ मिनट जस्तै गरेर बिताउनेछु ।

अन्त्यमा कहाँ आइपुगेउ बुहारी भन्दै सोधखोज गर्नुहुने नीतिरमण हजुरबुवा, आमा बुवा, आफन्त, घर परिवार , साथीहरु, छोरा मनायु र बुझकि स्वामि राजालाई यात्रा सहज बनाइदिनु भएकोमा नमन गर्दै नेपाल सरकारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छुI स्व. ससुराबुवा पण्डित शिब प्रसाद गौतमप्रति भाबपुर्ण श्रदान्जली 🙏