२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / झापाको दमकमा राष्ट्रिय गौरवका ठुला आयोजना बाहेक सबै प्रकारका निर्माणका काम रोक्ने निर्णय भएको छ । दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्माणको क्षेत्रमा बाहिरबाट मजदुर आएका कारण जोखिम बढेको भन्दै यस्तो कार्य रोक्नु पर्ने सुझाव नगरपालिकामा भएको छलफलमा उठेको थियो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले लकडाउनलाई कसरी अघि बढाउने ? भन्ने प्रस्ताव सहित बिभिन्न विकल्पहरु प्रस्तुत गरेपछि राजनीतिक दलका नगर प्रमुख तथा प्रतिनिधि र सामाजिक अगुवाहरुले लकडाउनलाई कडाई र थप ब्यवस्थित गर्न सुझाव दिएका थिए । लकडाउन एकसाता लम्ब्याउन माग राखेका थिए ।

नगरपालिकाले निर्माण गर्ने क्वारेन्टाइन, आइसुलेसन, निर्माणकार्यस्थल भित्रै कामदार सुरक्षितसाथ राखि निर्माण गर्ने दमक भ्यू टावर, बसपार्क र दमक सभाहल बाहेकका सबै निर्माणका काम बँख गर्ने निर्णय भएको छ, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

दमक बजार अनुगमन समितिका संयोजक समेत रहेका वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले लक डाउन पालना गराउने जनप्रतिनिधि तथा अनुगमन समितिको मात्र जिम्मेवारी नभएको जनाए । आफुहरुलाई तथानाम गालीगलौज गर्ने सम्मको कार्य भएको उनले जनाएका थिए ।

पीसीआर परीक्षण लगायतका बिषयमा आएको गुनासोबारे नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाले प्रदेश सरकारले पठाएको मापदण्ड तथा निर्देशिका अनुसार हुने जनाए । यो खर्चिलोसंगै ब्यवस्थापकीय कार्य समेत जटिल भएकाले आफुले पनि पीसीआर गर्न पाउनु पर्छ भने नभन्न आग्रह गरे ।