२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा बैकल्पिक बिधि अर्थात इन्टरनेटको प्रयोगबाट पढाई शुरु गर्नका लागि असोज १ गतेदेखि भर्ना लिने चर्चा भएको छ । कोरोना संक्रमणको महामारी र त्रासले झण्डै आधाबर्ष गुज्रेको छ । यो अवस्थामा बिद्यालय सञ्चालक, शिक्षक र अभिभावकको नै आम्दानीको श्रोत गुमेको छ । यो तितो यथार्थ हो । यो बुझ्नु पर्छ ।

तर ईन्टरनेटको माध्यमबाट तथा बैकल्पिक शिक्षण पद्धतीबाट पढाई शुरु गर्दा जसरी भौतिक रुपमा विद्यालयमा उपस्थित हुँदा लाग्ने शुल्क हो त्यो शुल्क लिन मिल्ला ? अनि बैकल्पिक शिक्षण बिधि एकै प्रकारको हुने की फरक फरक ? अनि शुल्क निर्धारण एउटै हुने की बेगल ? यो प्रश्न खडा भएको छ ।

साथै यसमा सबै बिद्यार्थीको पहुँच पुग्ला यस बिषयमा पनि सोचिनु पर्दछ । प्याप्सन दमकले २०७६ सालमा स्वीकृत भएको मासिक शुल्क लिन पाउनु पर्ने प्रस्ताव गरेको बुझिएको छ । यहि बिषयमा छलफल पनि भएको छ । यो कति ब्यवहारिक होला ? सोचनिय छ ।

दमकमा असोज १ गतेबाट बिद्यालयमा बिद्यार्थी भर्ना गर्न पाउने निर्णय भएको छ । स्वास्थ्य सावधानी अपनाएर भर्ना गर्ने भनिएको छ । अनलाईनबाट अर्थात बैकल्पिक बिधिबाट अध्यापन गराउदा हुने र पहुँच पुगेको देखिन्छ भने अनलाईन तथा बैकल्पिक बिधिबाट नै भर्ना तथा शुल्क बुझाउने ब्यवस्था गर्न किन नहुने ? यसतर्फ पनि ध्यान जाओस । यो चाहि सम्भव छैन तर पठनपाठन सम्भव छ भनिन बेर छैन ।

नगरपालिकाले जारी गरेको निर्देशनमा सबै बिद्यालयहरुलाई अध्यापन शुनिश्चितता गर्न भनिएको छ । त्यो शुनिश्चिता नगरी भर्ना गर्न पाउने की नपाउने ? दमकका सबै बिद्यालयहरुले त्यो शुनिश्चिता गर्न सक्लान त ? दमकका केहि ठुला बिद्यालयहरुले सक्लान तर ति साना बिद्यालयहरुमा पठनपाठन गर्नेहरुको अवस्था के होला ? गम्भिर रुपमा सोच्नु पर्दछ ।

हरेक घरसंग गासिएको यो जटिल बिषय हो । यस बिषयमा राजनीतिकर्मी, बिद्यार्थी संघसंगठनहरु पनि गम्भिर बन्नु पर्दछ । अनलाईनबाट पठनपाठन गराउने भनेर बिद्यार्थीबाट भर्ना शुल्क तथा मासिक शुल्क पुरानै अवस्थामा उठाउने अवस्था आउनु हुुन्न । मानिस भोकभोकै हुने जटिल अवस्थामा फेरी अभिभावकहरुमा मानसिक तनावमा पर्ने अवस्था आउनु हुन्न । बैकल्पिक माध्यमबाट पठनपाठन गरिदाको शुल्क निर्धारण हुनुपर्दछ ।