हामीकहाँ अन्य पश्चिमेली देशहरू भन्दा फरक अवस्थाको जोखिम छ, हामी झन् बढि शतर्क हुन आवश्यक छ
बद्रि बराल (दमक नगरपालिका स्वास्थ्य शाखा जन स्वास्थ्य निरिक्षक)
विश्व भर कोरोना भाइरस (कोभिड-१९) सामाजिक रोगको रुपमा रूपान्तरण भईरहदा स्वास्थ्य क्षेत्रलाई मात्र असर पुर्याउदछ भन्ने सोचाइ राख्नु एउटा पक्ष रहला, तर यसले सबै पक्षलाई बराबर असर पारेको छ। हामीले अबका दिनमा यसका विरूद्ध लड्नका लागि स्थानीय तहबाट समुदास्तरमै क्षमता बढाउनु पर्दछ ।
नेपालको हाल सम्मको संक्रमणको तथ्यांक हेर्ने हो भने संक्रमित भए मध्ये मृत्यु हुने उमेर युवाहरूको धेरै छ। जबकि विश्वमा मृत्यु हुनेमा वृद्ध उमेरका मानिस छन्। यसले के बताउँछ भने हामीकहाँ अन्य पश्चिमेली देशहरू भन्दा फरक अवस्थको जोखिम छ भनेर भन्नू पर्ने अवस्था छ ।
यस्तो अवस्थामा देश अगाडि बढी रहदा मौसम परिवर्तनको समय पनि संगसगै आईरहेको छ । अहिले र अबको मौसम भाईरसका लागि अनुकूल समय हो, भने पछि हामीले के बुझ्न जरूरी छ भने अर्को भयको लडाइँ आखा अगाडि आउदैछ । यस्तो अवस्थामा स्थानिय सरकारले कुनै पनि कदम चाल्नु अगाडि जनस्वास्थ्यकर्मी/स्वास्थ्यकर्मी तथा चिकित्सकहरू संग विषेश छलफल गर्नु अति उपयुक्त रहन्छ।
एउटा कुरा भन्नै पर्छ कि यहाँ प्राविधिक निर्णयहरू गर्दा प्रशासनिक तथा ब्युरोक्रेसीबाट आएका कुरालाई प्राथमिकतामा राखेर निर्णय गर्ने गरेको देखिन्छ जुन अहिलेको परिपेक्षमा त्यति फलदायी नहुन सक्छ । त्यसका लागि स्थानीय कार्यपालिकाले निम्नानुसारको विकल्प तथा क्षमता विकास गर्नुपर्ने हुन्छ।
१. कन्ट्याक्ट ट्रेसिङ गर्न स्थानीय तहबाट स्तरिय स्वयंसेवकहरूको व्यवस्थापन तदारुकताका साथ तयार पार्नु पर्दछ ।
२. हाल कन्ट्याक्ट ट्रेसिङमा प्रयोग गरिएका स्वास्थ्यकर्मी सहित आफ्नो क्षेत्र भित्रका सम्पुर्ण स्वास्थ्यकर्मीहरूलाई उपचार तथा रोग नियन्त्रणका लागि तयारी गर्नु पर्दछ ।
३. सबै स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई एकै पटक काममा नपठाई नेपाल सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य सेवालाई ब्यवस्थापन गरि स्वास्थ्यकर्मीहरूलाई आलो-पालोको ब्यवस्था मिलाउनुपर्छ ।
४. पि.सि.आर परिक्षणलाई कन्ट्याक्ट ट्रेसिङमा ब्यवस्थित गरि आर डि टी एन्टीजेन/ एन्टीबडी परिक्षण समुदाय स्तरमा लैजानु पर्दछ ।
५. स्थानीय सरकार मात्रैले यो समस्या समाधान गर्न सक्दैनन् , सम्पूर्ण नागरिकहरूले स्थानीय सरकारलाई पूर्णरूपमा सहयोग तथा समर्थन गर्नु पर्दछ ।
६. आम नागरिक सबैले आ-आफ्नो स्तरवाट नियमानुसार स्वास्थ्य उपायहरू अनिवार्य रूपमा अपनाउनु पर्दछ ।
कम्तीमा यी कुरामा ध्यान पुर्याउन सकियो भने कोरोना भाईरस (कोभिड-१९) विरूद्ध लड्न सहजै सकिन्छ ।
