दमकमा कोरोना संक्रमण भएकी एक महिलाको मृत्यु, जिल्लामा मृतकको संख्या १७ पुग्यो
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण फैलने दर बढ्दै गएको छ । मृतकको संख्या पनि बढ्न थालेको छ । यसैक्रममा सोमबार दमक ३ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सोमबार सार्वजनिक भएको विवरणमा ति महिलाको मृत्यु भएको उल्लेख रहेको छ ।
झापामा सोमबारमत्र ४८ जना कोरोना संक्रमित थपिएकाछन् । जिल्लाभर संक्रमितको संख्या १४ सय नाँघेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो विवरण अनुसार जिल्लामा संक्रमितको कुल संख्या १४ सय ७ पुगेको हो । ९ सय ८१ जना भने निको भएकाछन् ।
४ सय ६ जना आईसुलेसनमा रहेकाछन् । जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । चाडपर्व नजिक आएपछि बजारहरु भिडभाड बढ्नका साथै बाहिर गएका आफन्तहरु घर फर्कने क्रम पनि बढेकाले कोरोना संक्रमण दर अझै बढ्ने अवस्था देखिन्छ ।
नगरमा कोरोना संक्रमण बढ्न थालेसंगै नगरपालिकाले नगरपालिका तथा वडा कार्यालयबाट दिइने अधिकाँश सेवा बन्द गरेको छ । अत्यआवश्यकीय बाहेक सबै सेवा बन्द गरिएको र वार्ड कार्यालयहरु पनि दशैपछि सम्म बन्द रहने जनाईएको छ ।
दमक नगर उपप्रमुख गीता अधिकारीका अनुसार नगर प्रमुख ओलीलाई कोरोना पोजेटिभ देखिएपछि नगपालिकाका पदाधिकारी र कर्मचारी आईसुलेसनमा रहेकाले यो निर्णय लिईएको हो ।
