२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक । दमकस्थित एक मात्र सरकारी अस्पतालमा भएको आगलागीबारे छानविनका लागि दमक नगरपालिकाले छानविन समिति गठन गरेको छ। आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले वडा नं.१० का वडाअध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा छानविन समिति बनाएको हो।

समितिको सदस्य सचिवमा नगरपालिकाका अधिकृत यज्ञ निरौला रहेको र समितिलाई आगलागीको कारण, सुझाव र आगामी दिनमा अपनाउनु पर्ने सतर्कता सहितको प्रतिवेदन बुझाउन भनिएको अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन्। उनका अनुसार समितिलाई १० दिनको समय तोकिएको छ।

७० लाखको क्षति

शनिबार अस्पतालको भण्डार कोठामा अचानक आगलागी भएको थियो। विद्युत सर्ट भई एसी मेशिन पड्किर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट विभिन्न प्रकारका औषधि र केही उपकरणसमेत नष्ट हुँदा ६० देखि ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको अधिकारीले बताएकी छन्। क्षतिको यकिन विवरणका लागि अध्ययन भइरहेको छ।

सेवा नरोकिने

आगलागीका कारण ठूलो मात्रामा औषधि नष्ट भए पनि सेवा अवरुद्ध हुन नदिने अस्पताल सञ्चालक समितिले जनाएको छ। स्वास्थ्य विमा अन्तर्गतका औषधि बचेको र थप औषधिसमेत खरिद गरेर सेवा नियमित दिइने जनाइएको छ।

कोरोना भाइरस महामारी नियन्त्रणमा जुटि रहेको समयमा अत्यावश्यक औषधि नै जलेर नष्ट हुँदा समस्या आई परेको भएपछि आवश्यक औषधि खरिद प्रक्रिया तुरुन्तै शुरु गरिने नगरपालिकाले जनाएको छ।सो अस्पताल दमकको एकमात्र सरकारी अस्पताल हो। यो दमक नगरपालिकामार्फत सञ्चालित छ।