२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

भद्रपुर / झापामा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक सय चार पुगेको छ । भद्रपुर नगरपालिका ७ बस्ने ६५ बर्षीया अन्नमाया कार्कीको मृत्यु भएसँगै जिल्लामा सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक सय चार पुगेको हो । हिजोसम्म जिल्लामा १०३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

भद्रपुरमा सङ्क्रमणबाट मृत्यु भएका महिला कार्कीलाई मङ्सिर ३ गते संक्रमण पुष्टि भएको थियो । दीर्घ रोग लागेका ती महिलामा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएकी जनाइएको छ । मङ्गलवार राती उनको घरमै मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाद्वारा राति नै कनकाई माईमा दाहसंस्कार गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।

त्यस्तै भद्रपुरमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । होम आइसोलेसनमा बस्दै आएका ९ जनामा पुनः कोरोना पोजेटिभ देखिएसँगै २३ जना संक्रमित थपिएको शाखाका फोकल पर्सन भट्टराईले बताए । थपिएका सबै स्थानीय हुन् ।

भद्रपुरमा मात्र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । त्यस्तै जिल्लाको मेचीनगरमा दुई महिलासहित ८ जना, बिर्तामोडमा दुई महिलासहित १० जना, कनकाईमा एक महिलासहित ७ जना, अर्जुनधारामा दुई महिलासहित ६ जना, दमकमा नौ महिलासहित ३१ जना, गौरदाहमा दुई महिलासहित १३ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै शिवसताक्षीमा एक महिलासहित पाँच जना, बुद्धशान्तिमा एक महिलासहित दुई जना, हल्दिबारीमा एक जना, कचनकवलमा एक जना, कमलमा एक महिलासहित पाँच जना, गौरीगञ्जमा एक जना र झापा गाउँपालिकामा एक महिलासहित तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक उल्लेख छ । बाह्रदशीमा गाउँपालिका अहिलेसम्म सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन ।