२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/झापाको राजनीतिमा तार्किक र अध्यनशिलता भएका युवा नेताको रुपमा परिचित रमेश गुरागाईले जनयुद्धको समयमा कारागार तथा गणमा पाएको यातना तथा त्यहाँ बनाईएका योजनाहरुको बिषयमा पुस्तक लेखेर प्रकाशन गरेकाछन् । उनको र उनका साथीहरुको भोगाई समेटेर पुस्तक लेखेका गुरागाँई त्यो समयलाई सम्झाउन र सम्झन खोजेकाछन् ।

बुधबार माओबादी अध्ययन केन्द्रको ब्यानरमा दमक बहुमुखि क्याम्पसमा पुस्तकको बिमोचन भएको हो । पुस्तकको बिमोचन पुर्व मन्त्री समेत रहेका चिन्तनशिल राजनीतिकर्मी एवं नेकपा नेता राम कार्कीले गरे । उनले यो पुस्तक कुनै दिनका लागि स्मरणयोग्य हुने विश्वास रहेको जनाए ।

गुरागाईले आफुले भोगेको र देखेको अनुभव पुस्तकको रुपमा ल्याएर आफुलाई अलग रुपमा उभ्याएको भन्दै धन्यवाद पनि दिए । कार्कीले अबको नयाँ पुस्ताले त्यो दिन झै बन्दुक बोक्नु नपरोस भन्ने चाहाना राखेर आन्दोलन गरिएको भएपनि अहिले फेरी ढुक्क हुने अवस्था नरहेको पनि सो अवसरमा जनाए ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले गुरागाईले दमकको शैक्षिक योजना बनाउन सहयोग गरिरहेको उल्लेख गर्दै उनको कार्यकुशलताको प्रंशशा गरिन । उनले यो पुस्तकले समाजका लागि केहि न केहि दिनेमा विश्वास रहेको बताईन्छ ।

साहित्यकार हेमनाथ अधिकारी र प्राध्यापक तथा लेखेक धनञ्जय बास्कोटाले पुस्तकमाथि चर्चा गरे । कार्यक्रम सञ्चालन धनकुटे कान्छाले गरेका थिए । २०६ पृष्ठ लामो कारवास पुस्तकको बजार मुल्य ५०० रुपैया रहेको छ । गुरागाईले यस अघि शान्तिमोर्चामा माओवादी भन्ने पुस्तक पनि लेखेका थिए ।