२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ देशमा लोकतान्त्रिक गणतन्त्र आयो भने जसले खुसियाली मनाएको थियो अहिले त्यहि नागरिक यहि लोकतान्त्रिक गणतन्त्र विरुद्ध बोल्न थालेको छ । जसले लोकतान्त्रिक आन्दोलनको अगुवाई गरे र जनतामा परिवर्तनको आभास दिलाए तिनै नेता सर्वसाधरण नागरिकले पनि आलोचना गर्दै आएकाछन् । यो मूलकका लागि शुभ संकेत होइन ।

यो न कुनै बाह्य शक्तिका कारण गणतन्त्र विरुद्ध तथा राजतन्त्रको पक्षमा आवाज उठेको हो न त कुनै आन्तरिक शक्ति नै यसमा लागेको छ । यसको कारण राजनीतिक दलहरु र यसका नेताहरुको कारण जनताले असन्तुष्टि पोखेका हुन् । पार्टीभित्र त लोकतान्त्रिक अभ्यास गर्न नसक्ने अवस्थामा राजनीतिक दल र यसका नेता पुगेको देखिएको छ । यसरी मूलकलाई लोकतान्त्रिक अभ्यासमा कसरी लैजान सम्भव होला ? यो हरेकको मन उब्जने प्रश्न छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को दूई तिहाईको सरकार छ । तर यसका केहि नेताहरु सरकारलाई असफल बनाएर आफु स्थापित हुने दाउमा लागेको देखिन्छ । पार्टी पनि यहि मौकामा कब्जा गर्न सकिन्छ भनेर लागेको देखिन्छ । अर्का थरी पार्टी भित्रकै नेता जसरी पनि सरकार टिकाउने र पार्टी पनि आफै हाक्नु पर्छ भन्ने मान्यता अनुसार जबरजस्त गरेको देखिन्छ । खोई त आफ्नो बाहेक देशको चिन्ता ? नागरिकका अपेक्षाहरु कहिले पुरा होला ?

अहिले राजतन्त्रको र हिन्दु राष्ट्रको पक्षमा देखिएको आन्दोलनलाई सामान्य रुपमा आँकलन गर्न मिल्दैन । हिजो जनआन्दोलनको शुरुवाती अवस्था के थियो ? त्यो हेक्का पक्कै पनि राज्य सञ्चालन गर्ने तथा सच्चा गणतन्त्रबादी बताउनेहरुलाई हुनु पर्ने हो । यसर्थ राजतन्त्रको पक्षमा वकालत गरिरहेका नागरिकहरुलाई गाली गर्न छाडेर कुन कमजोरीका कारण यो अवस्था आयो भनेर त्यो कमजोरी हटाउन उत्तम हुन सक्छ । अन्यथा मूलक फेरी भद्रगोलतर्फ उन्मुख हुन्छ ।

आफ्नो स्वार्थ सोच्ने, आफु भए ठिक अरु भए बेठिक भन्ने नेताहरुको मनोभावाना, एकले अर्कालाई कसरी सिध्याएर आफ्नो राजनीतिक हैसियत माथि बढाउने भन्ने राजनीतिक दल र यसका नेताकोको चिन्ता बाहेक यहाँ देश र जनताको चिन्ता गर्ने गरेको देखिन्न । आखिर जनताको बलमा भएको परिवर्तनलाई उल्ट्याउन सक्ने तागत यिनै जनतामा छ ।