बुहारी हिमानी लगायत परिवारका अन्य सदस्य सहित दमक आँउदै पुर्व राजा ज्ञानेन्द्र शाह
पूर्व राजा ज्ञानेन्द्र शाह पुस १० गते शुक्रवार झापा आउने भएका छन् । राजावादीहरुसंगको भेटघाटका लागि उनी शुक्रवार झापा आउन लागेका हुन् । हिउँदे भ्रमणका लागि भन्दै उनी पूर्व रानी कोमल शाह, बुहारी हिमानीलगायत परिवारका अन्य सदस्य समेत झापा आउन लागेका हुन् ।
निर्मल निवासबाट हिउँदे भ्रमणका लागि झापा आएका उनी नयाँ दिल्लीसम्म पुग्ने तयारी गरिरहेका छन् । हरेक वर्ष पूर्व राजा जाडोमा झापा आउने गरेका छन्। तर यस पटक राप्रपालगायत राजावादी विभिन्न सङ्गठनले आन्दोलन र प्रदर्शन पनि गर्ने तयारी थालेका बेला पूर्व राजाले उपत्यका छाड्नुलाई अर्थपूर्ण मानिएको छ ।
झापाको दमकमा रहेको मिनी दरबारमा उनको बसाई हुने छ । सोही क्रममा राप्रपाका नेता तथा कार्यकर्ता सहित राजावादीहरुसंग पूर्व राजाको भेटघाट हुने बताइन्छ । उनले झापाको एक शक्ति पीठको समेत उद्घाटन गर्नेछन् । अघिल्लो वर्ष पनि जाडोको समयमा उनी झापा आएका थिए । सो क्रममा केही व्यक्तिलाई मात्र उनले भेटेका थिए ।
