२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका ४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार दमक नगरपालिका ४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ ट्रकले ठक्कर दिँदा साइकलमा सवार ओझा गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा विएण्डसी हस्पिटल बिर्तामोडमा सोमबार विहान मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए । त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो । प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै सोमबार विहान कमल गाउँपालिका ५ रतुवा पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश न २ ०३ ००१ ख २००८ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको मे १० प ३३८४ नम्बर को स्कुटीलाई ठक्कर दिएको छ । टिपरको ठक्करबाट स्कुटी चालक दमक नगरपालिका ६ बस्ने अन्दाजी ३९ बर्षीया हिमा धिताल गम्भीर घाइते भएकी छिन् । उनको पेट र दुबै खुट्टामा चोट लागेको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ । यता टिपर र चालक मोरङ सुन्दर हरैचा नगरपालिका १० बस्ने ३३ बर्षीय राजेश ऋषियासन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।