प्रत्येक वाडले अक्सिजन सिलिण्डर खरिद गर्नुहोला-उपप्रमुख अधिकारी
दमक / दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले दमकको कोभिड उपचार केन्द्रलाई सञ्चालन गर्ने, आवश्यक अक्सिजनको ब्यवस्थापन गर्ने लगायतका बिषयमा छलफल भएर काम अघि बढेको बताएकीछन् । समभावित जोखिमलाई न्यूनिकरणका लागि सामुहिक प्रयास र सकारत्मक पहलकदमी आवश्यक रहेको बताउदै आफुहरुले गर्ने तयारी गरिरहेको उनले जनाएकीहुन् ।
नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा अधिकारीले अहिलेसम्म भईरहेको प्रयासबारे जानकारी गराएकी थिइन् । उनले २० थान अक्सिजन सिलिण्डर तत्काल किन्ने निर्णय भएको पनि बताईन ।
मेरो अनुरोध र आग्रह छ अब हरेक वार्डले पनि कम्तिमा पनि ५ वटाको दरले अक्सिजन सिलिण्डर किन्नुहोस, अधिकारीले भनिन् । बिगतमा पनि वार्डले कतिपयलाई अक्सिजन उपलब्ध गराएको स्मरण गर्दै उनले अहिले समयमा नै अक्सिजनको जोह गर्नु पर्नेमा जोड दिइन् ।
कोभिड उपचार केन्द्र व्यवस्थापन संयोजक गीता अधिकारीले बेलडाँगीमा रहेको कोभिड अस्पताललाई थप व्यवस्थित गरेर सञ्चालनमा ल्याइने जानकारी दिइन । उनले सो अस्पतालसंगै नगरमा रहेका अन्य निजी अस्पताललाई समेत अनिवार्य रुपमा कम्तीमा ३ देखि ५ ओटा सम्म संक्रमितको उपचारका लागि आइसोलेसन बेड सञ्चालनमा ल्याउन निर्देशन दिएको पनि जनाएकी थिइन् ।
