दमक सहित झापाभर निषेधाज्ञा शुरु, हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर बन्देज
दमक/ दमक सहित झापाभर आजदेखि निषेधाज्ञा लागू भएको छ । आइतवार मध्य रातदेखि निषेधाज्ञा लागु भएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी गरेको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख गरेपनि मानिसहरु आवतजावत गरेको देखिन्छ । यद्यपी बिगतभन्दा हिडडुल कम रहेको छ । विहान बजार तथा पसल खुला रहेकाले पनि किनमेलका लागि मानिसहरु हिडेको देखिएको छ ।
हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर बन्देज गरिएको छ । सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर पनि बन्द गर्न निषेधाज्ञा आदेशमा उल्लेख छ । सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएकाले यसको अनुगमन पनि भइरहेको जनाईएको छ ।
