२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा आज मध्यरातदेखि शुरु हुने निषेधाज्ञा आदेश अनुसार होटेल तथा रेस्टुरेन्ट, मिठाई र चिया पसल पूर्ण रूपले बन्द हुने भएकाछन् । यसभन्दा अघि जारी भएको निषेधाज्ञामा यो सबै खुला रहने उल्लेख रहेको थियो । यसको चर्को आलोचना पनि भएको थियो ।

होटेल तथा रेस्टुरेन्ट, मिठाई र चिया पसल पूर्ण रूपले बन्द गर्नुपर्नेछ अन्यथा कार्वाही हुनेछ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भने । यो निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न पनि उनले आग्रह गरेकाछन् ।

दैनिक अत्यआवश्यकीय सामाग्रि खरिदका लागि विहान १० बजेसमम तोकिएका दैनिक उपभोग्य सामाग्रिका पसलहरु भने खुला रहने भएकाछन् । अघिल्लो जारी निषेधाज्ञामा ११ बजेसम्म सबै बजार खुला र यातायात पनि जोरबिजोर प्रणाली उल्लेख गरिएको थियो ।

आदेशमा यस्तो उल्लेख छ-

पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा :

खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्री लगायत अत्यावश्यक पसल व्यवसायहरू बिहान ६ बजे देखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजे देखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, अन्य पसल तथा व्यवसाय पूर्ण रूपले बन्द गर्ने । स्थानीय स्तरमा होम डेलिभरीका लागि आवश्यक व्यवस्था मिलाउने, होटेल तथा रेस्टुरेन्ट, मिठाई र चिया पसल पूर्ण रूपले बन्द राख्ने । अनलाइन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयं आएर प्याकिङ गरी लैजाने टेक वे विधि प्रयोग गरी सञ्चालन गर्ने, होटेलमा भेटघाट तथा जम्मा हुने गरी सेवा प्रदान गर्न नपाइने, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने र सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यहरू सञ्चालनमा समेत रोक लगाउने निर्णय गरिएको छ ।