निषेधाज्ञामा दमक मुख्य चोकमा नै शब्जि बजार खुला, निषेधाज्ञाको पुर्ण पालना छैन
विष्णुप्रसाद पोखरेल
दमक/ नागरिकको स्वास्थ्य सुरक्षाका लागि कडा किसिमको निषेधाज्ञा प्रशासनले जारी गरेको आज दोश्रो दिन । दमकमा पसल तथा ब्यवसाय प्रायजसो बन्द नै रहेको छ । यद्यपी निषेधाज्ञाको पुर्ण पालना भने हुन नसकेको देखिएको छ ।
दमकको मुख्य चौक तथा भित्रि सडकहरुमा हिडडुल सामान्य रुपमा चलेको छ । लुकिछिपी पसलहरु अत्यन्त कम खुलेकाछन् । १० बजेसम्म शब्जि बजार तथा अत्यआवश्यकीय तोकिएका केहि पसलहरु खुला रहने भनिएपनि साढे ११ बजे दमकको मुख्य गणतन्त्र चोक दक्षिणमा रहेको शब्जि बजार भने खुला नै रहेको थियो ।
दमकमा बिगतमा पनि लकडाउन निक्कै फितलो रहेको थियो । प्रशासनले निषेधाज्ञामा के गर्न पाउने ? के गर्न नपाउने स्पष्ट उल्लेख रहेको छ । अत्यआवश्यक बाहेक हिडडुल तथा ब्यापार ब्यसाय गर्न नपाउने निषेधाज्ञामा स्पष्ट रुपमा उल्लेख छ । तर यसको पालना नागरिकस्तरबाट भएको पाइदैन ।
खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायहरू बिहान ६ देखि बिहान १० बजेसम्म सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, अन्य पसल तथा व्यवसाय पूर्ण रूपमा बन्द गराउने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।
झापामा दिनहु कोरोना संक्रमणदर बढ्दै गएको छ । दमक पनि कोरोनाको उच्च जोखिममा रहेको नगर पर्दछ । परिक्षण गराएकामध्ये ३० देखि ३५ प्रतिशतसम्मलाई कोरोना संक्रमण देखिई रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाको भनाई छ । बालबालिकापनि अहिलेको दोश्रो भेरियन्टको कोरोनाबाट संक्रमित हुने क्रम छ ।
दमकमा २ दिनको अवधिमा तीन जनाको मृत्यु भइसकेको छ । दूइजनाको होम आईसुलेसनमा र अर्को एकजनाको विराटनगरमा उपचारको क्रममा नै मृत्यु भएको थियो । अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निषेधाज्ञा आदेश पालना गर्न नगरपालिकाले बारम्बार नगरबासिलाई आग्रह पनि गर्दै आएको छ ।


