झापामा परिक्षण गरिएको ५० प्रतिशतभन्दा बढिमा कोरोना संक्रमण, निषेधाज्ञालाई अत्यन्तै कडा पारिदै
विष्णुप्रसाद पोखरेल
दमक । झापामा बुधबार ३७० जनामा कोरोना परिक्षण हुँदा १८६ जनामा कोरोना सक्रमण पुष्टि भयो । यसले जिल्लामा कोरोना संक्रमणको अवस्थामा भयाभह हुने तर्फ संकेत गरेको निचोड सरोकारवाालाहरुको रहेको छ । यसले कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि चुनौती थपिएको सरोकारवालाहरुले बताएकाछन् ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले कोरोना संक्रमणदर झापामा बढ्दै जाँदा चुनौती थपिएको बताए । अहिलेको संक्रमणदरलाई हेर्ने हो भने हामीले अझ शशक्त भएर रोकथाम र उपचारमा लाग्ने अवस्था आएको छ, तिम्सिनाले भने ।
कोरोना संक्रमण घटाउन तथा कोरोनाको चेनब्रेक गर्नका लागि लगाईएको निषेधाज्ञालाई अझ कडा रुपमा कायम राख्नु पर्ने अवस्था आएको भन्दै यसबारे छलफल भइरहेको पनि उनले जानकारी दिए । हामी सबैले निषेधाज्ञा पालना गर्ने र कोरोना रोकथामका लागि सहयोग पुर्याउन आवश्यक छ, उनले भने ।
कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन, एचडीयू, अक्सिजनको उपलब्धता लागयतका आवश्यकीय बिषयमा सवेदनशिल भएर लागि परेको र स्थानीय सरकारसंग समन्वयमा काम अघि बढिरहेको पनि तिम्सिनाले जनाए । सबै स्थानीय तहहरुले आफ्नो तयारी गरिरहेको रिर्पोट पनि उनले सुनाए ।
जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेलका अनुसार मेची अञ्चल अस्पतालमा आवश्यक जनशक्ति ब्यवस्थापन तथा कोरोना संक्रमितको उपचारका लागि गर्न सकिने कार्यहरु गर्नका लागि आवश्यक पहल र प्रयत्न भइरहेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियण्त्रणका लागि लगाईएको निषेधाज्ञा पालनामा कमजोरी रहेको जनाउदै अब निषेधाज्ञालाई थप कडा बनाउनतर्फ लाग्नु पर्नेमा उनको जोड थियो । निषेधाज्ञालाई पनि कडा पारिनुपर्दछ र अहिलेको अवस्थाजस्तो हुनुहुदैन, उनले भने ।
