झापामा अत्यन्त कडा निषेधाज्ञाको आदेश जारी, औषधि र उपचारका लागि बाहेक कोहि हिडन नपाउने (आदेश सहित)
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा कोरोना संक्रमण धेरै नै बढ्न थालेपछि झापामा कडा निषेधाज्ञा जारी भएको छ । जेठ १ गते विहानको रातीदेखि लागु हुने गरी जारी भएको निषेधाज्ञामा अत्यआवश्यकीय तोकिएको बाहेकका सबै ब्यपार ब्यवसाय अव ठप्प हुनु पर्नेछ । जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्याराती १२ बजेसम्मलाई कडा निषेधाज्ञा जारी गरेको हो ।
हरियो तरकारी लगायत दुग्धजन्य सामाग्रिहरु आवश्यक मापदण्ड पालना गरेर विहान ८ बजेसम्ममा होम डेलीभरी गरिसक्नु पर्नेछ । यसका लागि स्थानीय सरकार र उद्योग बाणिज्य संघसंग समन्वय गर्न भनिएको छ । औषधि तथा स्वास्थ्यजन्य र ग्याँस बाहेकका अब सबै पसलहरु तथा ब्यापार बन्द रहनेछन् ।
सवारी साधन सञ्चालनमा सरकारी, गैह् सरकारी र नीजि सवारी साधनलाई पनि कडाई गरिने निषेधाज्ञामा उल्लेख छ । विहान कार्यालय समयभन्दा एकघण्टा अगाडि देखि दूइघण्टाभित्र र कार्यालय समापन समयमामात्र सरकारी सवारी साधन सञ्चालन गर्न आदेशमा भनिएको छ ।
अब बैक तथा बित्तिय संस्था पनि हप्तामा दूई दिनमात्र खुला रहन पाउनेछन् । भिडभाड र जोखिमलाई कम गर्नका लागि एकसाताको यो निषेधाज्ञा पुर्ण रुपमा लागु गराउन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सरकोरवालाहरुलाई निर्देशन पनि दिएको जनाईएको छ ।
जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी) को बैठकमा सहभागिहरुले अहिलेसम्मको निषेधाज्ञाको समिक्षा गर्दै यसलाई कडाई गर्नु पर्नेमा जोड दिएका थिए । कोरोना संक्रमणको चेनब्रेकका लागि कडा लकडाउन अपरिहार्य भन्दै सामाजिक सञ्जालमा समेत माग उठेको थियो ।



