२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ कोरोना संक्रमणको अवस्था भयाभह बन्न थालेपछि झापामा कडा किसिमको निषेधाज्ञा आदेश भएको छ । अब किराना तथा खाद्य एवं तरकारी र फलफुलका पसल पनि कम्तिमा पनि एकसातासम्म बन्द रहनेछन् ।

हार्डवेयर तथा खाद्य पसलहरु निश्चित समयका लागि खोल्न दिईएका कारणले गर्दा कोरोना संक्रमणदर थप बढ्ने अवस्था देखिदै आएको थियो । दमक नगरपालिकाले विहिबार दिउसो नगर भित्र लडकाउन र जिल्ला प्रशासन कार्यालय झापाले साँझ जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले स्थानीय सरकार तथा प्रशासनको आदेशलाई पुर्ण रुपमा पालना गर्न दमक उद्योग बाणिज्य संघका ब्यापारी तथा सम्पूर्ण दमकबासीहरुलाई अनुरोध गरेकाछन् ।

आफु र आफ्ना उपभोक्ता तथा ग्राहक बाँचेमात्र भोली ब्यापार हुने भन्दै यो अप्ठेरो घडिमा सबैको साझा प्रयासबाट कोरोना संक्रमण रोकथाम तथा नियण्त्रण हुने पनि उनको भनाई छ । उनले यो अवस्थामा कालोबजारी तथा जोखिम मोल्ने काम नगर्न पनि आग्रह गरेकाछन् ।

दमकमा कोरोना रोकथामका लागि यसभन्दा अघि भएका लकडाउन तथा निषेधाज्ञा पालना नभइरहेको अवस्था रहेको थियो । पछिल्लो पटक जारी भएको निषेधाज्ञालाई पुर्ण पालना गर्न तथा गराउन सबै लाग्नु पर्ने अवस्था देखिएको छ ।

झापाको दमकमा हिजो विहिबारमात्र एकैदिन थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३४ महिला र ५४ पुरुष कोरोना संक्रमित थपिएकाहुन् ।