कोरोना संक्रणको चेनब्रेकका लागि भोलीदेखि दमक सहित झापा ठप्प बनाउने तयारी
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा कोरोना संक्रमणदर नियण्त्रणका लागि स्थानीय तह लगायतका सरोकारवाला निकायहरुले चासो प्रकट गर्दै संक्रमण फैलन नदिने उपायको रुपमा निषेधाज्ञालाई कडा रुपमा पालना गराउने बताएकाछन् । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले शनिवार विहानका रातीदेखि शुरु हुने निषेधाज्ञालाई पुर्ण पालना गराउनका लागि आवश्यकीय तयारी गरिरहेको बताईएको छ ।
यसभन्दा अघि निश्चित समयका लागि खाद्यन्न, तरकारी पसल, हार्डवेयर पसलहरु खुला राखिएकोमा अब एकसाता यो पनि पुर्ण रुपमा बन्द हुने जनाईएको छ । होटलहरुले टेक वे सेवा पनि दिन पाउने छैनन् । सवारी साधन सञ्चालनमा पनि पुर्ण रुपमा बन्देज गर्ने तयारी रहेको जनाईएको छ ।
दमक नगरपालिकाले पसल खोलेको पाएको अवस्थामा त्यस्ता पसलहरु एकसाताका लागि सिल गर्दिने, विना प्रयोजन सवारी साधन चलाएको अवस्थामा नियण्त्रणमा लिएर एकसातासम्म राखिदिने र एकसातापछि मात्र चाबि दिने तयारी भएको नगरपालिका श्रोतले बताएको छ । यसका लागि प्रहरीले समन्वय गर्ने जनाईएको छ । बिगतमा पनि लकडाउन भएको अवस्थामा यस्तै सूचना जारी भएपनि कार्वाही नहुँदा लकडाउन तथा निषेधाज्ञा फितलो थियो । यो निषेधाज्ञा कस्तो कार्यन्वयन हुन्छ त्यो भने हेर्न बाँकी छ, दमकका एक अगुवा ब्यवसायीले भने ।
जिल्ला प्रशासन कार्यालयले अत्यआवश्यक बाहेकका सवारी साधन सञ्चालनमा पुर्ण रुपमा रोक लगाउने र सरकारी सवारी साधन सञ्चालनमा पनि कडाई गर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार निषेधाज्ञा पुर्ण पालना गराउनका सबैले लाग्ने प्रतिबद्धता जनाएकाछन् । यो सबै नागरिकका लागि भएकाले निषेधाज्ञा पालना गर्न उनले आग्रह पनि गरे ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मानव स्वास्थ्यको गम्भिर संकट निम्तन लागेकोले स्थानीय सरकार तथा प्रशासनको कदमलाई साथ दिन आग्रह गरेकाछन् । उनले संक्रमणलाई फैलन नदिनका लागि अपनाईएको उपायलाई अवलम्बन गरिएको जनाउदै नगरबासीहरुलाई बिना काम घर बाहिर ननिस्कन अनुरोध गरेकाछन् ।
