आजको चिन्तन-ज्ञान बुद्धिभन्दा माथिको कुरा हो
डिल्लीराम गौतम
कहिले काहीँ बाटोमा डोरीलाई सर्प ठानेर भाग्छौँ भने कहिले काहीँ सर्पलाई डोरी ठानेर समस्यामा पर्छाैँ । सर्प देखेकाले सर्पको प्रकृतिमा देख्दा रहेको डोरीलाई सर्प ठान्यौँ र डोरी पनि देखेकैले डोरीको प्रकृतिमा रहेको देख्दा सर्पलाई डोरी ठान्यौँ । दोष सर्पको र डोरीको होइन दृष्टिको हो । सर्प जस्तो डोरी र डोरी जस्तो सर्प देखियो । सन्निकट भएपछि यथार्थ स्पष्ट हुन्छ ।
सत्य बुद्धि र तर्कमा नभई सन्निकटमा हुन्छ । यस्तो प्रकृतिको सर्प हुन्छ भन्ने तर्कना बुद्धिमा नआएको भए डोरीलाई सर्प मानिदैन थियो । सन्निकट नहुञ्जेलसम्म त डोरी पनि हाम्रो बुद्धिमा सर्प हुँदैन थियो । त्यसैले सन्निकट आएको वा बोध भएको सत्यमात्र ज्ञान हो ।
बुद्धिको क्रियामा ज्ञान आइसकेको हुँदैन । त्यसैले बुद्धिको सेरोफेरोमा रहेको ज्ञान शुद्ध ज्ञान हुन सक्तैन । ज्ञान बुद्धिभन्दा माथिको कुरा हो । यसर्थ ज्ञान सत्य हो । सत्य ज्ञानमा आधारित छ । यही कारणलेले शुद्ध ज्ञान अनेक हुँदैन ।
