आजको चिन्तन-नेपाल र नेपाली धरामा जन्मिएका हरेक नेपाली वेद र ऋषि र देवतासँग जोडिएकै हुन्छन्
डील्लीराज गौतम
नेपालको पृष्टभूमि र नेपालीको नियमित वंशपरम्परा, जातीय परम्परा हामीले केलाउँदै गयौँ भने हामी कुल वंश र जातिमा जेजे भए पनि हाम्रो आदर्श ऋषि, वेद र देवतासँगै गएर जोडिन्छ । हिमाल, उपत्यका, पहाड र तराईका भौगोलिक विशेषता र संस्कारहरू बाहिरबाट अलग देखिए पनि तिनीहरूको बीज फरक छैन ।
हामीले बोल्ने भाषाहरू अलग छन् तर भाषाले बुझाउने तत्त्व एकै छन् । भाषाले फरक देखियौँला । भूगोलले अलगअलग शैलीमा रहौँला तर हामी सबैको आराधना यही प्रकृति, यिनै देवता र ऋषिहरूकै छन् । प्रकृतिका हरेक चीजका आफ्नै प्रकारका फरकपन वा जात छन् त्यसैले मानवका पनि जाति छन् तर जाति अलग हुँदैमा मानवीयता अलग हुँदैन । धर्ती एकै छ ।
प्रकृति एकै छ तर एउटा पहाड अर्को पहाडको वातावरण र पानीको आस्वाद फरक हुन्छ । पानी भन्ने तत्त्व त एकै हो र पहाड भन्ने कुरा पनि एकै हो तर त्यहाँका विशेषताले तिनीहरूमा भिन्नता आएको हुन्छ । यसरी नै मानवका कुल, वंश, जातिहरूका आआफ्नै परम्परा, स्थिति र लय छन् ।
यी सबै एउटै खालको हुनुपर्छ भन्ने हुँदैन किनभने वंश र जातिगत संस्कार र परिवेश फरक हुनछन् तर मानिसभित्र रहेका मानवता र प्रेम फरक हुँदैनन् । यसर्थ नेपाल र नेपाली धरामा जन्मिएका हरेक नेपाली वेद र ऋषि र देवतासँग जोडिएकै हुन्छन् ।

