२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप किन्नका लागि सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीलाई आज मन्त्रालयमा नगरपालिकाका प्रमुख रमण थापा सहितको टोलीले भेट गरी खोप किन्ने अनुमति मागेको हो ।

मन्त्री त्रिपाठीले खोप किन्नका लागि सरकारको तर्फबाट पनि केही आर्थिक तथा प्राविधिक सहयोग दिने आश्वासन दिनुभएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको प्रयास उदाहरणीय रहेको र किनेर ल्याउन तथा भण्डारणको व्यवस्था गर्न सकेमा त्यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै मन्त्री त्रिपाठीले खुशी व्यक्त गर्नुभयो ।

नगरप्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा र विकास बजेट र जनप्रतिनिधिहरूको भत्ता कटाएर ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको मन्त्री त्रिपाठीलाई जानकारी दिनुभयो । खोप खरिदका लागि नगरपालिकाले भारतका विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ ।