२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/  झापाको दमक सहित जिल्लाभर नै पछिल्लो समयमा निषेधाज्ञा पालना नगर्ने क्रम बढेको छ । अत्यआवश्यक र तोकिए बाहेक सबै क्षेत्र एवं यातायात बन्द रहने निषेधाज्ञामा उल्लेख भए पनि आज दमक सहित झापाका अधिकाँश ठाँउमा मानिसहरुको भिडभाड तथा पसलहरु खुल्न थालेको पाईएको छ ।

दमकमा सबै प्रकारका पसलहरुका आधा सटर खुल्ने क्रम शुरु भएको छ । खाद्य सामाग्रि लगायत विलाशिताका सामाग्रिहरु समेत किनबेच हुन थालेको छ । संक्रमणदर बढिरहेको अवस्थामा निषेधाज्ञा पालना नहुनु थप जोखिम निम्त्याउने खतरा रहेको जनाईन्छ । शुरुवातका दिनहरुमा निषेधाज्ञा पालना गराउन प्रशासनको पनि निक्कै सक्रियता रहेको थियो । अहिले सक्रियता घटेसंगै बजारमा हिडडुल देखि ब्यापार ब्यवसाय गर्नेहरुले निषेधाज्ञाको अवज्ञा गर्ने क्रम धेरै बढेको देखिन्छ ।

गृह मन्त्रालयले निषेधाज्ञा कडाई गर्न मातहतका जिल्ला प्रशासन कार्यालयहरुले निर्देशन जारी गरिसेकेको छ । सर्वसाधरणदेखि सबै सरोकारवालाहरुलाई लकडाउन तथा निषेधाज्ञा पुर्ण पालना गर्न स्थानीय सरकार तथा प्रशासनले अनुरोध गर्दै आएको छ ।

पछिल्लो पटक सरकारले ल्याएको अध्यादेश अनुसार निषेधाज्ञामा अनुमति बेगर सवारी चलाए २ पाङग्रेलाई २ हजार र ४ पाङग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकै पिच्छे १ सय र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ ।

आदेश विपरित काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि प्रजिअलाई छ । काममा अवरोध पुर्‍याए सम्बन्धित व्यक्ति वा संस्थाका प्रमुखलाई १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय, आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्न प्रावधान पछिल्लो अध्यादेशमा समेटिएको छ ।