कोभिडका विरामीले दमकका अस्पतालहरु भरिभराउ, आईसियु र भेन्टिलेटर बेडको चरम अभाव
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा कोरोना संक्रमितको उपचारका लागि ब्यवस्थापन गरिएका बेडहरु भरिएकाछन् । सरकारी कोभिड उपचार केन्द्र र नीजि अस्पतालहरुले सञ्चालनमा ल्याएको कोभिड उपचार केन्द्रहरुको बेड भरिभराउ भएको हो ।
११९ वटा बेड ब्यवस्थापन भएको दमकमा बुधबार बेलुकासम्ममा ११७ जना विरामी भर्ना भएर उपचार लिईरहेकाछन् । यसमा भेन्टिलेटरमा ९ जना र आईसियुमा ७ जनाको उपचार भइरहेको छ । एचडियुमा ५३ संक्रमितले उपचार पाईरहेकाछन् ।
दमकको बेलडाँगीमा रहेको कोभिड उपचार केन्द्रमा संक्रमितहरुले निशुल्क रुपमा उपचार पाईरहेको र हप्तामा दूई पटक पिसिआर परिक्षण पनि गरिदै आएको दमक नगरपालिका उपप्रमुख एवं दमक अस्पताल विकास समिति अध्यक्ष गीता अधिकारीले बताएकीछन् ।
कोभिड उपचार केन्द्र दमकमा उपचारका लागि आएकाहरुलाई त्यहि नजिकै निर्माण गरिएको अक्सिजन सहितको आईसुलेसन सेन्टरमा राखिन थालेको छ । समुदायको सहयोगमा केहि समय अघि उक्त आईसुलेसन सेन्टर तयार भएको थियो ।
कोरोना संक्रमणले अप्ठेरो पारेपछि र श्वास फेर्न गाहे भएपछि विरामीहरु अस्पताल आउने भएकाले उनिहरुका लागि तत्कालै आईसियु तथा भेन्टिलेटरको सुविधा समेत आवश्यक पर्न सक्ने भएपनि यसको ब्यवस्थापनमा कठिनाई भइरहेको अस्पतालहरुले जनाउन थालेकाछन् ।
केहि दिन यता कोभिड उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिन थालेकाले स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन पनि चुनौती बन्दै गएको बताईन्छ । कोभिडका विरामीको उपचारका लागि स्वास्थ्यकर्मीहरुले जिउज्यान माया मारेर काम गरिरहेको पाईन्छ ।

