२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / दमकमा कोरोना संक्रमणदर खास नघटेपनि अस्पताल भर्ना भएर उपचार गर्नेहरुको संख्या भने धेरै नै घटेको छ । एकसाता अघिसम्म दमकका अस्पतालहरुमा एकसयभन्दा बढि उपचारका लागि भर्ना भएकोमा यो संख्या अहिले उल्लेख्य घटेको पाईएको छ ।

दमक कोभिड उपचार केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरणका अनुसार कोभिड उपचार केन्द्र सहित दमकका अस्पतालहरुमा ३९ जना भर्ना भएकाछन् । यसमा झापा जिल्ला बाहिरका ११ जना रहेकाछन् भने अन्य जिल्लाभरका संक्रमितहुन् ।

लाईफलाइन अस्पताल र आम्दा अस्पतालमा ६ जना भेन्टिलेटरमा रहेको जनाईएको छ । यहाँका अस्पतालहरुमा दमक सहित बाहिरबाट समेत उपचारमा संक्रमितहरुलाई ल्याईने गरेको बताईएको छ । यसभन्दा अघि ११५ जनासम्म संक्रमितहरु यहाँका अस्पतालहरुमा भर्ना भएका थिए ।

दमकमा कम्तिमा ११९ जनासम्म कोभिडका विरामीहरुको उपचारका लागि अस्पतालहरुले बेड छुट्याएकाछन् । कोभिड उपचार केन्द्र दमकको ब्यवस्थापन दमक नगरपालिकाले गर्दै आएको छ । आम्दा अस्पताल र एडभान्स अस्पतालले पनि कोभिडका विरामीहरुको उपचार गर्दै आएकाछन् ।

दमकको लाईफलाईन अस्पताललाई नेपाल सरकार अर्थात प्रदेशको सामाजिक मन्त्रालयले निशुल्क उपचार पाउने अस्पतालको रुपमा सुचिकृत गरेको छ । अस्पतालहरुले आईसुलेसन, एचडियु, आईसियू र भेन्टिलेटरको सेवा दिइरहेकाछन् ।

लाईफलाइन अस्पतालका मेडिकल डाइरेक्टर सुर्यनारायण शाहका अनुसार एकसाता यता विरामीको चापमा कमी आएको छ । एकसाता अघिसम्म बेड भरिने गरी विरामी भएपनि अहिले विरामीको संख्या घटेको छ । संक्रमितहरुलाई समयमा अस्पताल ल्याइ पुर्याउदा धेरैको ज्यान बचेको र कतिपयले ढिला गरी अस्पतालमा ल्याउदा ज्यान पनि गएको शाहले बताए ।

यसैबीच कोभिड उपचार केन्द्र दमककी फोकल पर्सन देबी दंगालका अनुसार गत २४ घण्टाको अवधिमा दमकमा एकजनाको मृत्यु भएको छ । एडभान्स अस्पतालमा दमक ३ का एक पुरुषको मृत्यु भएको हो ।