दमकमा लापरवाहीका कारण घटेन कोरोना संक्रमणदर, परिक्षण गरिएका ४२ प्रतिशतमा कोरोना पोजेटिभ
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा जिल्लाको अन्य पालिकाहरुको तुलनामा कोरोना संक्रमणदर अहिलेसम्म घटेको छैन । नगरपालिकाले निशुल्क रुपमा गरेको पिसिआर परिक्षण तथा नीजि रुपमा स्वतस्फूर्त रुपमा गरिएको परिक्षणमा पनि पोजेटिभ आउनको संख्या धेरै रहेको छ ।
सोमबार नगरपालिकाले कोभिड उपचार केन्द्रमामा ११५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाएको थियो । चिकित्सकले सिफारिस गरेको व्यक्ति, कन्ट्याक ट्रेसिङ्गमा परेको व्यक्ति र स्वास्थ्यकर्मीगरी जम्मा ११५ जनाको स्वाब जम्मा गरी बिपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकोमा ४९ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
दमकमा कोरोना संक्रमणको जोखिम अझै उच्च नै रहेको पाईएको छ । मंगलबार आएको रिर्पोटलाई आधार मान्ने हो भने पनि जाँच गरिएकाहरुमध्ये ४२ प्रतिशतमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अधिकाँश होम आईसुलेसनमा नै रहेकाछन् ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार दमकमा त्यति धेरै स्वास्थ्य मापदण्ड पालना नभएको देखिएको छ । स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी रहेको छ र यसमा कसैले पनि हेल्चेक्राई गर्नु हुन्न, भट्टराईले भने ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर र दमक नगरपालिकाले नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेपनि दमकमा यसको कार्यन्वयन अत्यन्त फितलो रहेका कारण पनि जोखिममा कुनै कमी नभएको बताईन्छ । अन्यत्र भन्दा दमकमा निषेधाज्ञा धेरै नै फितलो रहेको पाईन्छ ।
सामाजिक सञ्जालमा दमकमा जस्तो निषेधाज्ञा लगाउनु भन्दा नलगाउनु नै उचित भन्दै आलोचना पनि भएको पाईन्छ । लुकिछिपी ब्यापार ब्यवसाय गर्दा स्वास्थ्य मापदण्ड पालनामा उपभोक्ता र ब्यापारीले पनि ध्यान नदिएको पाईन्छ ।
नेपाल सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि लागु गरेको मापदण्ड अपनाई सावधानी र सतर्कतापूर्वक अत्यावश्यक काम नपरेसम्म घरमै बस्नेर विदेशबाट आएका व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा नगरपालिकाले बारम्बारअपिल पनि गर्दै आएको छ ।
