दमक प्रहरीले फेसबुक मार्फत ‘वान्टेड नोटिस’ जारी गरेका हत्या अभियुक्त पक्राउ
झापा,
झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रिख्यासन मोरङको रंगेलीबाट पक्राउ परेका छन् । ३९ वर्षीय रिख्यासनलाई इलाका प्रहरी कार्यालय दमक, मोरङको गौरादह र रंगेली प्रहरीको समन्वयमा पक्राउ गरिएको दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।
उनलाई मोरङ रंगेली नगरपालिका वडा नं.९ स्थित काकाको छोराको घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको कार्कीले अपराध न्यूजसँग बताए ।
घटना पश्चात् फरार रिख्यासनलाई पक्राउ गर्न दमक प्रहरीले फेसबुक मार्फत ‘वान्टेड नोटिस’ समेत जारी गरेको थियो । उनलाई हत्या भएको ५ दिनपछि पक्राउ गरिएको हो । असार ३१ गते रिख्यासनले सङ्गीतालाई निर्ममता पूर्वक कुटपिट गरी हत्या गरी फरार भएका थिए । रिख्यासनले सङ्गीतामाथि लौरो प्रहार गरी हत्या गरेका थिए । दुवै जना मापसे गरी भएको विवादको क्रममा घटना भएको थियो ।
घटना भए पश्चात् फरार रिख्यासनको खोजीमा दमक प्रहरीको विशेष टिम परिचालित भएको थियो । रिख्यासन लुकिछिपी मोरङस्थित आफन्तको घरमा बसेको सूचनाको आधारमा खोजतलास गदै जाँदा काकाको छोराको घरबाट आइतबार साँझ पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।
उनलाई म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका रिख्यासनको मृतक सङ्गीता तेस्री श्रीमती हुन ।
