२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

कोरोना भाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा झापा जिल्ला पहिलो स्थानमा छ । सरकारले १७ वटा जिल्लालाई अति उच्च जोखिमको सूचीमा राखेको छ ।सरकारको अति उच्च जोखिमको सूचीमा रहेको झापा जिल्लाका छ वटा नगरपालिकामा संक्रमितको संख्या बढी रहेको छ ।

जिल्लाका १५ वटा पालिकामध्ये शहरी क्षेत्रमा बढी संक्रमण फैलिएको पाइएको छ ।जसमा दमक, बिर्तामोड, मेचीनगर, भद्रपुर, अर्जुनधारा, कनकाई र नगरपालिकामा धेरै संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनले जनसंख्याको बढी चाप भएको क्षेत्रमा त्यसमा पनि भीडभाड गर्नाले संक्रमणको जोखिम बढेको बताए ।यसैबीच, झापामा मंगलबार ३४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ९११ जनालाई पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३४९ जनालाई संक्रमण पुष्टि भएको हो ।

जुन ३८.३ प्रतिशत हुन आउँछ ।जनस्वास्थ्यको न्यूनतम मापदण्डसमेत पालना नगर्दा संक्रमण रोकथाममा समस्या देखिएको उनको भनाई छ ।झापा पछि सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् ।

यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन् । जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन् ।मन्त्रालयका सह-प्रवक्ता डा समीरकुमार अधिकारीले विगतभन्दा संक्रमण दर बढ्दै गएको बताएका छन् ।