दशैं कसैका लागि पनि दशा नबनोस- स्वास्थ्य सावधानी अपनाउन नबिर्सौ है !
विष्णुप्रसाद पोखरेल
दमक/ विजयदशमी अर्थात दशैं दशैं वा बडा दशैं (दशहरा, विजया दशमी नवरात्र आयुध) पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गरिन्छ ।
यो नेपालीहरुको विशेष पर्व हो । यसले गर्दा सबैले मनाउन सक्नुपर्छ र साझा पर्वको रुपमा ग्रहण गरिनु पर्दछ । दशैंको बिषयमा यदाकदा बिबाद पनि निकालेको देखिन्छ । हिन्दुहरुकोमात्र चाड वा कुनै विशेष समुदायको चाड भन्दै टिप्पणि गरेको पनि पाईन्छ । मिलिजुलि हाम्रो समाजमा यस प्रकारका बहस गर्नु भन्दा कसरी यसलाई साझा बनाउन सकिन्छ त्यसतर्फ सोचिनु पर्दछ ।
दशैं कसैको घरमा पनि दशा बनेर भित्रनु हुँदैन । कसैको घर आँगनमा दशैं दशा बनेर नभित्रियोस शुभकामना । पछिल्लो समयमा दशैं होस या अन्य चाडपर्वहरु भड्किलो बन्ने गरेकाछन् । हुने खानेहरुका लागि दशैं सहज नै होला तर हुँदा खानेका लागि दशैं दशा जस्तै पनि हुने गरेको पाईन्छ । हुने खानेकाले हुँदा खानेलाई केहि सहयोग गर्ने संस्कारको विकास गर्ने हो भने पक्कै पनि दशैं सबैको घरमा आउछ ।
विशेष गरेर चाडपर्वको समयमा दुर्घटनाले धेरैको दशैंलाई खल्लो बनाई रहेको हुन्छ । दुर्घटना रहित दशैं बनाउन हामी सबैले आफ्ना ठाँउबाट पहल गरिनु आवश्यक छ । यो हामी सबैको साझा दायित्व हो । लुटपाटका घटनाहरु पनि हुनसक्छन् यसमा पनि सचेत बन्नु पर्छ । चाडपर्वको समयमा धेरै गरगहना लगाएर सकेसम्म नहिडौ । हिड्दा समुहमा वा कसैको साथमा मात्र हिड्ने गरौ । कुनै घटना हुनुभन्दा अघि नै सावधानी अपनाएको उत्तम हुन्छ ।
हामी कोरोना संक्रमणको महामारीसंग जुध्दै दशै बनाउदैछौ । अहिले पनि कोरोना संक्रमण हुने क्रम रोकिएको छैन । केहि कमी मात्र भएको हो । यसले गर्दा हामी सजग र शतर्क बन्नु नै पर्नेछ र बन्नुपर्छ । स्वास्थ्य सावधानी अपनाएर मात्र दशैं मनाऔ । बालबालिका र जेष्ठ नागरिक बिशेष गरेर उच्च जोखिममा पर्न सक्ने भएकाले यस बिषयमा पनि सचेत बनौ । अहिले सावधानी नअपनाएका कारण भोलि अस्पतालमा बास बस्नु नपरोस् । कसैको स्वास्थ्यमा गम्भिर असर नपरोस ।
प्रभावकारी मिडिया प्रा.ली.को तर्फबाट सम्पूर्णमा बिजयदशमी अर्थात दशैंको मंगलमय शुभकामना ।

दशैंको परम्परागत आर्शिबाद र महत्व
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।
आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।
‘आवाहनं नजानामि नजानामि विर्जसनम्।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ।

