२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल

दमक/ पुर्वी नेपालमा लगातरको बर्षाका कारण ठुला तथा साना खोलाहरुमा बाढी आउने क्रम बढ्दै गएको छ । कन्काई, रतुवा, मावा, विरि ङ लगायतका खोलाहरुमा पानीको सतह बढिरहेको छ । यसले गर्दा आसपासका क्षेत्रका मानिसहरुमा त्रास शुरु भएको छ ।

नेपाल बाढी सूचनाले साँझ ५ बजे जारी गरेको एउटा सूचना जारी गरेर सर्तकता पार गरेर खतरातह नजिक पुगेको जनाउ दिएको छ । सूचनामा भनिएको छ-इलामको कन्काइ नदी मैनाचुली जलमापन केन्द्रमा नदीले सतर्कता पार गरी खतरा तह नजिक रहेको तथा बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले भोलि सम्मै उच्च सतर्कता अपनाऔँ।

यसैगरी धनकुटाको तमोर नदीमा पनि बाढी बढेको जनाईएको छ । सूचना जारी गर्दै भनिएको छ- धनकुटाको तमोर नदी मुलघाट जलमापन केन्द्रमा नदीले खतरा तह पार गरी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले भोलि सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला / जानुहोला।

अझै बर्षा हुने पनि जनाईएको छ । अपरान्ह ३ बजे नेपाल बाढी सूचनाले बर्षादको जानकारी दिदै भनेको थियो-झापा, मोरङ, सुनसरी, सप्तरी लगायत प्रदेश १ र २ का अधिकांश स्थानहरूमा पछिल्लो १२ घण्टामा अति भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान छ। कन्काइ नदी र तराई तथा चुरे भइ बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने; तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले भोलि सम्मै उच्च सतर्कता अपनाऔँ।