दमक आएर विश्वप्रकाशले भने-किसानले राहत पाउछन्
दमक/ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा संगै नभएपनि संकटमा संगै रहने नेपालका राजनीतिक दलहरुको संस्कारलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन ।
कोरोनाको संकट आउँदा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राहत कोषमा पचास लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गर्दै नेता शर्माले पछिल्लो समय बाढी पहिरोका कारण देशमा परेको संकटमा समयमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले सात दिनमा सरकार ढाल्न सक्छौं भनेर दिएको अभिव्यक्तिलाई अस्वभाविक भनि टिप्पणी समेत गरेका छन ।
आज झापाको दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाटमा नेता शर्माले भने – यो विपतको बेला आवेगले होइन विवेकले काम गर्नुपर्छ । उनले सरकार बनेको एक बर्ष सम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने संबैधानिक व्यवस्थाका बिषयमा समेत पूर्व प्रधानमन्त्री ओली जानकार नहुनु दुखद भनि टिप्पणी पनि गरे ।
उनले कांग्रेस नेतृत्वको वर्तमान सरकार गठनको सय दिन पूरा भएको प्रसंग समेत जोडदै यो सरकारले पहिलो प्राथमिकता कोरोना विरुद्धको खोपलाई राखेर अघि बढेको र अधिक नेपालीले खोप लगाइसकेको र अझै पनि सरकारको प्राथमिकतामा नै रहेकोले खोप लगाउने प्रकृया पूरा नभए सम्म निरन्तर चल्ने बताए ।
देशभरको तुलनामा प्रदेश एकमा बर्षा र हावाहुरीको प्रभाव धेरै परेको भन्दै नेता शर्माले किसानहरुको धानबालीमा पुगेको क्षतिको विवरण संकलन गरेर सरकारले किसान लक्षित राहतको प्याकेज ल्याउने पनि बताए ।
सरकारले मृतकका परिवार र बाढी विस्थापित परिवारलाई नगद राहतको घोषणा गरिसकेको भन्दै प्रवक्ता शर्माले किसानले धानखेतीमा ब्यहोर्नुपरेको नोक्सानीलाई आधार बनाएर राहतको प्याकेज ल्याउनका लागि कांग्रेसले सबै दलसंगको छलफल र दातृ निकायहरुसंग सहयोगको अपिल गर्ने उनले जनाए ।
युनियनका क्षेत्रीय समिति अध्यक्ष विष्णु सुब्बाको सभापतित्वमा भएको पत्रकार भेटघाटमा कांग्रेस नेतृ एवं सांसद महेन्द्रकुमारी लिम्बु, महासमिति सदस्यद्धय सुरेश सुब्बा र दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति प्रकाश प्रसाइँ, निवर्तमान नगर सभापति रोशन विष्ट लगायतका पार्टीका स्थानीय नेतृत्व सहभागी थिए ।

