झापामा दुर्घटना-एकको गयो ज्यान, २२ यात्रु घाइते
झापा । झापामा यात्रुवाहक दुर्घटना भएको छ । बस दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ, भने २२ यात्रु घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका- ८ स्थित बिरिङ पुलमा आइतबार दिउँसो बस दुर्घटना भएको थियो । पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आफै अनियन्त्रित भई बिरिङ पुलको रेलिङमा ठोक्किएको थियो ।
रेलिङमा ठोक्किँदा बस तल खस्न पाएन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारको लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा कनकाई नगरपालिका- ७ निवासी १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको डिएसपी पाठकले बताए ।
अन्य घाइते भएकाहरूमध्ये ११ जनाको बीएण्डसी अस्पताल र ११ जनाको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यता बस चालक सुनसरी बराहा नगरपालिका ३ निवासी ३२ वर्षीय बाबुराम कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ ।

