२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासको गति बढ्दै गएको र नेपालीहरुको सम्बृद्धिको सपना साकार बन्ने दिशामा रहेको बताउनु भएको छ । उहाँले अब विकासका योजना तथा परियोजनाहरु सञ्चालन गर्दा ब्यवस्तिथ र योजनाबद्ध हुनु पर्नेमा पनि जोड दिनु भयो ।

आफ्नो निर्वाचन क्षेत्र झापाको क्षेत्र नं. ५ को दमकमा निर्माणाधिन भ्यू टावरको अवलोकन र ३५ बिपन्न परिवारहरुहरुलाई घरको ताल्चा बितरणको कार्यक्रमलाई आईतवार सम्बोधन गर्दै ओलीले विकसित देशमा देखिएका जस्ता संरचनाहरु यहि मूलकमा नै नेपालीले बनाउन सक्षमछन् र नेपालमा नै बन्छन् भन्ने उदाहरण यो रहेको जनाउनु भयो ।

उहाँले अब ब्यवस्थित रुपमा नयाँ शहरहरुको विकासमा ध्यान दिनु पर्नेमा पनि जोड दिनु भएको छ । भ्यू टावरको आसपासको क्षेत्रमा अब बस्ति विकासको काम शुरु गर्नु पर्नेमा जोड दिदै बाटोघाटो, ढल निकास, सार्वजनिक स्थल, खेलमैदान, स्कूल लगायतका आवश्यकीय संरचनाका निर्माणका लागि जग्गामा लोभ नगर्न पनि स्थानीयसंग उहाँको आग्रह थियो ।

उहाँले दमक अब भ्यू टावरको युगमा प्रवेस गरेको पनि बताए । यो विकासको एउटा ज्वलन्त उदाहरण हो, उनले भने । यसका आर्थिक आयामहरु धेरै बढ्ने उहाँको भनाई थियो । भ्यू टावर दमकको महत्वकांक्षी योजनाको रुपमा अघि बढेको थियो ।

पुर्व प्रधानमन्त्री ओलीले आफुले निर्वाचनको समयमा यस क्षेत्रका बासिन्दासंग गरेको प्रतिबद्धता नभुलेको भन्दै त्यसमा प्रतिबद्ध रहेको पनि जनाउनु भयो । यहाँहरुसंग निर्वाचनको समयमा गरेको बाचा र प्रतिबद्धतलाई मैले भुलेको छैन, उहाँले भन्नुभयो । मेरो सपना र दृढ संकल्प भनेकै जनताको मुहारमा हाँसो ल्याउनु हो, ओलीको भनाई थियो ।

ओलीले सरकारका कामहरुले गति लिनसाथ त्यस्तो सरकार ढाल्ने प्रवृती बढेको पनि उल्लेख गर्नु भयो । सरकारले जब तिब्र रुपमा काम गर्छ र लोकप्रीय बन्न थाल्छ त्योपछि सरकार ढालिने गर्छ, उहाँले भन्नुभयो । अब निर्वाचनको माध्यमबाट फेरी आफु र आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्ने दाबी पनि ओलीले गर्नु भयो ।

झापा जिल्लाको दमक नगरपालिका–३ को दापगाछीमामा ओलीको पहलमा नै नेपालकै सबैभन्दा अग्लो भ्यू टावर निर्माणाधिन रहेको छ । १९ तलासम्म प्रयोग गर्न मिल्ने किसिमका ब्यवसायिक संरचनाहरु र त्यो भन्दा माथि स्टिल संरचना रहने गरी निर्माणधिन भ्यू टावरको ५० प्रतिशत काम पुरा भएको सो अवसरमा जानकारी दिईएको थियो ।