आज झापामा फेरी हात्तीको आक्रमण एक बृद्धको मृत्यु
दमक/ झापामा फेरी हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । मेचीनगर नगरपालिकाको चारआलीमा हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
मेचिनगर नगरपालिका वडा नं. १३ चारआलिका ७१ बर्षिय खम्बा सिंह कार्की आज सोमबार विहान हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परि गम्भिर घाईते भएका थिए ।
ईलाका प्रहरी कार्यालय काकभिट्टाका प्रमुख सुनिल दाहालका अनुसार घाईते कार्किको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
विहान साढे ५ बजेतिर हात्ती आएपछि स्थानीयहरु हात्ती लखेटन बाहिर निस्केका थिए । सोहि क्रममा हात्तीको आक्रमणमा परेको सूचना आएपछि त्यहाँ प्रहरी पुगेको जनाईएको छ । बृद्ध कार्कीको पेटमा हात्तीले कुल्चेको थियो ।
यसभन्दा अघि झापाको दमक ३ मा पनि हात्तीको आक्रमणमा परेर एक बृद्धको ज्यान गएको थियो । झापामा फेरी दिनहुजसो हात्ती आंतक शुरु भएको छ ।

