२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखेँ

विष्णुप्रसाद पोखरेल

दमक/ सडकमा टिपर र ट्याक्टरको ज्यादतीको बिषयमा धेरैलाई जानकार छ । एक त क्षमताभन्दा बढि कसैले पनि सवारी साधनमा केहि पनि बोक्न नपाउनु पर्ने हो तर यहाँ खुलमखुल्ला रुपमा यस्तो नियम खिल्लि उडाईन्छ । क्षमताभन्दा माथि निर्माण सामाग्रि बोक्ने र त्यो पनि सडकमा धेरैलाई असर पुर्याउने कार्य हुँदा समेत यसमा सम्बन्धित निकायहरुको ध्यान गईरहेको पाईन्छ । यस एक किसिमले भन्ने हो भने टिपर तथा ट्याक्टर सम्राज्य नै चलेको छ ।

दमक बजार तथा भित्रि सडकहरुमा टिपर चलाउन नपाईने भनेर बारम्बार छलफल र बहस भएकाछन् । कतिपय ठाँउमा सूचना पनि टाँस भएकाछन् तर यहाँ तिब्र गतिमा टिपर र ट्याक्टर चलिरहेकाछन् । त्यो पनि क्षमताभन्दा बढि निर्माण सामाग्रि बोकेको देखिन्छ । डालाभन्दा माथि समेत निर्माण सामाग्रि बोकेर धुलो उडाउदै टिपर र ट्याक्टर हुईकिदा नियमनकारी निकायहरु यो दखेको नदेख्यै गरेको पाईन्छ ।

नियम, कानून निर्दोलाई मात्र लाग्ने हो की ? सबैलाई ? यो प्रश्न उब्जिएको छ । टिपर र ट्याक्टरमा डालामाथिसम्म बालुवा, ढुगा हालेर नछोपी ल्याउदा हावाहुरीले उडाएर पैदलयात्री देखि लिएर अन्य सवारी साधन कुदाउनेलाई समेत समस्या छ । यसबाट हुनसक्ने सम्भावित दुर्घटना र जोखिम रोक्नका लागि स्थानीय प्रशासन, ट्राफिक तथा सरोकारवाला निकायहरु किन मौन छन् ? यो रहस्यमय छ । टिपर र ट्याक्टरमा नछोपी जोखिमयुक्त तवरले निर्माण सामाग्रि बोक्दा उनिहरुलाई किन कार्वाही हुँदैन ? यो बिषयमा बारम्बार कुरा उठाउदा पनि सरोकारवाला निकायहरु किन चुप ? अब सबैले प्रश्न गर्ने समय पनि आएको छ ।

ट्राफिक नियम टिपर र ट्याक्टरलाई लाग्छ की लाग्दैन ? सडकमा रहेका ट्राफिक प्रहरीलाई पनि सबैले सोध्ने समय आएको छ । किनभने टिपर वा ट्याक्टरको पछि कुनै सवारी साधन कुदाउनु पर्यो भने कतिखेर दुर्घटनामा परिएला भन्ने चिन्ता गर्ने अवस्था सिर्जना भएको छ । बालुवा तथा निर्माणसामाग्रि बाटोमा फुसफुस झार्दै हिड्ने, हावा आँउदा धुलो छर्दै हिड्ने टिपर र ट्याक्टर ट्राफिकको आँखामा किन पर्दैन ?  डेढाको हिसाव भन्दै क्षमताभन्दा बढि सामाग्रि बोकेर टिपर र ट्याक्टर सडकमा हुइकिदा ज्यान जोगाउन भाग्ने अवस्था हुँदा समेत यसमा सरोकारवाा निकाय रमिते बन्नु लाजमर्दो अवस्था हो । कमसेकम यस्तो गर्नेलाई कार्वाही गर्ने हो र निरुत्साहित गर्ने हो भने दुर्घटनामा पनि कमी आउन सक्थ्यो की !

यातायात व्यवस्था विभागले ६ चक्के टिपर (ठुलो) का लागि ७।५ र १० चक्के टिपरका लागि १२ घनमिटर आयतन भएको ढाला राख्न पाउने मापदण्ड कायम गरेको छ। तर टिपर सञ्चालकले मापदण्डभन्दा बढी आयतनको ढाला थपेर टिपर सञ्चालन गर्दै आएका छन्। ६ चक्केमा ९ घनमिटर र १० चक्के टिपरमा १७ घनमिटरसम्मको ढाला थपेर सञ्चालन गर्दै आएको देखिन्छ यसको अनुगमन खोइ ?

टिपर र ट्याक्टरले ब्लूबुकमा उल्लेख गरेको भन्दा बढी क्षमताको रोडा, ढुंगा लोड गर्नका लागि टिपरको बडीको चारैतर्फ कम्तिमा पनि २/२ फिट गांसेर प्रचलित यातायात व्यवस्था र ट्राफिक ऐन, नियम, कानून उल्लघंन गरी टिपर संचालन गरेको पनि देखिन्छ । यसमा सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ । टिपर तथा ट्याक्टरको ज्यादती रोकिनुपर्छ । टिपर र ट्याक्टर हरेक निर्माणसंग जोडिएकाछन् । मानिसको दैनिकीसंग पनि सरोकार राख्छ । यो चल्नु हुँदैन भन्ने होईन । यति हो, सुरक्षित तवरले चल्नु पर्यो । अरुको सुरक्षाको बिषयमा पनि ख्याल गर्नु पर्यो । नियम मान्नु पर्यो । क्षमताभन्दा बढि निर्माण सामाग्रि बोक्नु भएन ।