२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति, इतिहास तथा संस्कृतिविद प्राज्ञ डा जगमान गुरुङले प्रदेश १ को नामकरण सगरमाथा प्रदेश गरिदा यसले पहिचान स्थापित गर्ने बताउनु भएको छ । कुनै पनि जातीय आधारमा राज्यको नामकरण गरिनु नहुने बताउदै जातीय आधारमा राज्यको नाम राख्दैमा पहिचान नहुने भन्दै उहाँले यस्तो बताउनु भएको हो ।

झापाको दमकमा पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले आदिबासी जनजातीहरुले आफुले यसो भनिरहदा पहिचान विरोधी भन्न सक्ने जनाउदै पछि आफै सबैले यस बिषयमा बुझ्ने पनि उहाँले बताउनु भयो । जातीय पहिचानको आधारमा प्रदेश नामकरण गर्नु उपयुक्त नहुने उहाँले जनाउनु भयो ।

सबैको पहिचान र यहाँको गौरव नै सगरमाथा भएकाले यो भन्दा उपयुक्त प्रदेशको नाम अरु हुन सक्दैन भन्ने लाग्छ, गुरुङले भन्नुभयो । कोशीपनि यहाँको पहिचानसंग जोडिएको नाम भएता पनि त्यो भन्दा पनि सगरमाथाको विशिष्ठ पहिचान रहेकाले यसमा आदिबासी जनजातीको पहिचान हराउने भन्ने नहुने उहाँको भनाई थियो ।

सगरमाथालाई झोमोलुङ्मा पनि भनेको पाईन्छ तर यो धेरैलाई थाहा छैन, उहाँले भन्नुभयो । सगरमाथा नै सबैको मुखमा रहेकाले यसको पहिचान नै सगरमाथा बन्यो, गुरुङ भन्नुहुन्छ । किरातीहरु अर्थात राईहरु र स्थानीयले अहिले पनि सगरमाथालाई चोमोलुङ भन्ने गरेकाछन् । इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथासंगै नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेको पाईन्छ ।

जातीय वा अन्य पहिचान भनेर सगरमाथाका अघि वा पछि पनि कुनै नाम जोडन आवश्यक पनि नरहेको उहाँले जनाउनु भयो । इतिहासलाई कसैले मेटाउन सक्दैन र पहिचान पनि हराउदैन, गुरुङको भनाई थियो । प्रदेशको नाम मौलिक र स्थानीय पहिचानसंग जोडिएको हुनु पर्ने आफुले बारम्बार बताउदै आएको उहाँले स्पष्ट पार्नु भयो । १ नम्बर प्रदेशको नामकरण र यसमा पहिचानको बिषयमा बहस हुँदै आएको छ ।

७ वटै प्रदेश र नेपाल चिनाउने कार्य अधुरै छ

उपकुलपति गुरुङले बजेट लगायत बिभिन्न कारणले गर्दा समग्र नेपाल चिनाउने पुस्तक तयार गर्ने आफ्नो सोच अधुरो र अपुरै रहेको बताउनु भएको छ । अहिलेसम्म नेपाल र ७ वटै प्रदेशलाई चिनाउने पुस्तक हामीसंग छैन, उहाँले भन्नुभयो । आफु उपकुलपति भएर आएपछि यसका लागि बारम्बार प्रयास गरेपनि यो अहिलेसम्म पुरा गर्न नसकिएको उहाँले दुखेसो गर्नु भयो ।

७ वटै प्रदेशको पहिचान र चिनारी सहित समग्र मुलकको चिनारी भएको पुस्तक आवश्यक छ, उहाँको जोड थियो । पछिल्लो समयमा प्राज्ञ प्रतिष्ठान मार्फत भाषा, सस्कृती, कला एवं परम्पराहरुको बिषयमा लेखिएका बिभिन्न खोज र अनुसन्धानमा आधारित पुस्तकहरु प्रकाशनलाई प्राथमिकतामा राखेको गुरुङको भनाई थियो ।