२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखेँ

बिष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक पुर्वमा नै एउटा ब्यवस्थित बन्दै गएको र विकासन्मुख नगर हो । यहाँको परिचय र पहिचान एकपछि अर्को गर्दै थपिदै गएको अवस्था छ । पहिला दमक बजार क्षेत्रका खुला तथा ब्यवस्थित सडक यहाँको मुख्य पहिचान थियो । नेपालकै सफा शहरमध्ये दमक पनि एक हो । नेपालकै अग्लो भ्यू टावर, नेपालकै सबैभन्दा ठुलो सभाहल, दक्षिण एशियाकै सबैभन्दा ठुलो औधोगिक पार्क निर्माण भइरहेको शहर पनि दमक बन्दैछ ।

पछिल्लो समयमा यहाँको विकास निर्माण र यहाँ आएका ठुला योजना तथा आयोजानहरुले दमक पहिचानलाई फराकिलो बनाउदै गएको छ । विकास भन्ने बित्तिकै भौतिक विकासले बुझ्ने आमचलन रहेको छ । यहाँको राजनीतिक, आर्थिक, सामाजिक, लगायतका खेलकुदको विकासमा मानिसको त्यति धेरै चासो गएको पाईन्न । तर भौतिक विकाससंगै सबै क्षेत्रको विकासले मात्र सम्बृद्ध दमक बन्न सक्छ ।  दमकले भने खेलकुद क्षेत्रलाई यो पटक राम्रो स्थान दिएको छ । अर्थात यहाँ भएका ठुला प्रतियोगितामा प्रत्यक्ष रुपमा स्थानीय सरकार अर्थात दमक नगरपालिकाको समेत साथ र सहयोग रहेको छ । आफै आयोजक बनेको छ ।

दमकमा यो महिना तीनवटा राष्ट्रिय महत्व राख्ने अन्तराष्ट्रिय स्तरका खेलहरु हुँदैछन् । दूईवटा खेल त सकिएकाछन् । अन्तराष्ट्रिय खेलाडिहरु समेत सामेल भएर दमकमा २ लाख पुरुस्कार राशिको राष्ट्रिय महिला भलिवल प्रतियोगिता सम्पन्न भयो । त्यस लगत्तै दमकमा नै अर्को अन्तराष्ट्रिय खेलाडिहरु समेत सहभागिता रहेको कराते प्रतियोगिता भयो । प्रतियोगिता कोठामा तथा सिमित बाहेक खास कहि चर्चा भएन । यो कस्का कारण र के कमजोरीले यस्तो भयो ? यो खोज्न आवश्यक छ ।

अब आँउदो साता अर्थात चैत ९ गतेदेखि मेफसलमा नै सर्वाधिक पुरुस्कार राशिको दमक गोल्डकपको दोस्रो संस्करण दमकमा शुरु हुँदैछ । यो दमकको पहिचानलाई थप्ने एउटा साझा कार्यक्रम र अवसर हो । विडम्बना प्रतियोगिता सामान्य औपचारिकतामा सिमित राख्ने काम मात्र हुने देखिन्छ । दूईवटा ठुला प्रतियोगिता भलिबल र कराते सम्पन्न भयो तर त्यो धेरैले पत्तो नै पाएनन् । यत्तिकैमा झापाको बिर्तामोडमा हुने झापा गोल्डकपले यति धेरै चर्चा पाएको छ र पाउछ तर दमक गोल्डकप भने यसै सकिन्छ । किन त यस्तो ? सिमित ब्याक्तिहरुको स्वार्थका कारण यस्तो भएको हुनसक्छ । होइन भने यसलाई दमकबासीको अपनत्व हुने किसिमको प्रतियोगिताको रुपमा किन विकास गर्न सकिदैन ? यो सोचनिय छ ।

प्रतियोगीतालाई आम दमकेलीको र यस क्षेत्रको पहिचान स्थापित गराउनका लागि यहाँका स्थानीय संघसंस्थाहरुको सहभागिता, राजनीतिक दलहरुको एक्यवद्धता, सर्वसाधरणहरुको चासो र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको ध्यानकर्षण गराउन सक्नुपर्छ । आमसञ्चार तथा पत्रकारिताको माध्यमबाट समेत यसको प्रवद्र्धन एवं प्रचारप्रसारमा ठुलो टेवा पुग्छ । यसमा आयोजक कमजोर देखिएको छ । जुन झापाको बिर्तामोडमा भएको झापा गोल्डकपमा कमी थिएन ।

दमक गोल्डकप दमकको पहिचानको रुपमा अघि बढ्दा र यस अनुसार तयारी गर्दा राम्रो हुने हो भन्ने लाग्छ । अझ अन्तराष्ट्रिय स्तरको प्रस्तावित मदन भण्डारी रंगशालमा यो प्रतियोगिता हुँदैछ । अब प्रतियोगिता आउनका लागि जम्मा एकसाता र केहि दिन बाँकी रहेको छ । तर प्रचारप्रसार सुस्त रहेको छ । सामान्य प्रतियोगिताको झै रहेको छ । दमकबासीको प्रतियोगिता, दमकको पहिचानको प्रतियोगिता, दमकको गौरव गर्न लायक प्रतियागिताको रुपमा अघि बढाउने भन्दा पनि आफ्नो स्वार्थसिद्ध गर्ने केहि ब्याक्ति तथा समुहको मात्र प्रतियोगिता नबनोस भन्ने शुभकामना ।