गठबन्धनको सहारा बेगर नै भएपनि राम थापा दमक नगर प्रमुखमा उठ्ने
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश १ अध्यक्ष एवं दमक नगरपालिकाका चर्चित राजनीतिकर्मी राम थापा नगर प्रमुखको उम्मेद्वारबाट पछि नहट्ने भएकाछन् । गठबन्धनमा आएर वा गठबन्धनले उनलाई उम्मेद्वारको रुपमा अघि सार्ने बताईएपनि यस बिषयमा गठबन्धनभित्र अहिलेसम्म सहमति हुन सकेको छैन । बैशाख अन्तिमा हुने स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा उम्मेद्वार बन्नेहरुले आफ्नो उम्मेद्वारी घोषणा गर्दै आएकाछन् ।
दमकमा एमाले बाहेकको गठबन्धन बनाएर जाने कसरत हुँदै आएको छ । नगर प्रमुखमा माओबादी केन्द्रका नेता श्री कान्त र गगनले नगर प्रमुखमा दाबी गरिसकेकाछन् । यस्तो अवस्थामापनि थापाले एकल रुपमा भएपनि उम्मेद्वारी दिने सार्वजनिक रुपमा बताईसकेकाछन् । शुक्रबार दमकमा भएको प्रदेशस्तरीय आमसभामा बोल्दै उनले नगर प्रमुखको उम्मेद्वार आफु रहेको र पछि नहट्ने स्पष्ट रुपमा बताइसकेकाछन् ।
थापा यसभन्दा अघि वर्तमान नगर प्रमुख रोमनाथ ओलीसंग पराजित भएकाहुन् । उनी दमकमा दोश्रो शक्तिको रुपमा रहदै आएकाछन् । माओबादी केन्द्र र नेपाली काँग्रेसको उम्मेद्वारभन्दा बढि उनले अघिल्लो पटक निर्वाचनमा मत ल्याएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको नेकपा एमलोसंग गठबन्धन हुनसक्ने अड्कल काटिएपनि नगर प्रमुख पाउनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको अडानका कारण यो सम्भव नहुने देखिन्छ । नेकपा एमालेबाट नगर प्रमुखमा गीता अधिकारी, अम्बिका खनाल र होमबहादुर थापाले दाबी गर्दै आएकाछन् ।

