दमक अस्पतालमा विरामीको झनै कन्तविजोग ! एक्स रे सेवा बन्द
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकस्थित सरकारी दमक अस्पतालको एक्स रे सेवा बन्द भएको छ । दमक सहित यस आसपासको क्षेत्रका स्वास्थ्य बिमा गरेकाहरुको एकमात्र प्रथम विन्दु अस्पताल रहेको दमक अस्पतालमा आजबाट एक्स रे सेवा बन्द भएको हो ।
दमक अस्पतालले सूचना गरेर एक्स रे सेवा बन्द भएको जानकारी गराएको हो । कहिलेदेखि सेवा शुचारु हुन्छ भन्ने सूचनामा उल्लेख रहेको छैन । सबै अस्पतालको प्रथम विन्दु काटेर दमक अस्पतालमात्र तोकिएपछि विरामीलाई सास्ति हुँदै आएको थियो । यसले विरामीहरुलाई झनै ठुलो सास्ति हुनेछ ।
दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले दिएको जानकारी अनुसार केहि दिन अघि परेको पानी अस्पताल परिसरमा जमेका कारण एक्स रे मेशिनमा पनि यसको असर देखिएको हो । त्यो समय एक्स रे रुममा पनि पानी पसेको थियो ।
दमक अस्पतालमा विरामीहरुले बारम्बार दुख र सास्ति खेप्दै आएको लामो समय भएको छ । अस्पतालका विरामीहरुले उपचार सेवा लिन घण्टौमात्र नभएर ३ दिनसम्म कुर्नु पर्ने अवस्था रहेको बिषय बारम्बार सार्जजनिक हुँदै आएको छ ।


