दमकमा लायन्सको चार्मिङ ! चौथो क्याविनेट बैठक भब्यताका साथ सम्पन्न, लायन्स ट्राफिक आईल्याण्ड जिर्णोद्धार
दमक/लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानको चौथो क्याविनेट बैठक दमकमा भब्य रुपमा सम्पन्न भएको छ । देशभरका लायन्सकर्मी तथा लायन्स लिडरहरुको उपस्थितिमा दमकस्थित कस्मिक पार्टी प्यालेशमा भब्यताका साथ चौथो क्याविनेट बैठक सम्पन्न भएको हो ।
लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीले यो लायन्स बर्षमा नेपालमा उत्कृष्ठ काम गरेर विश्वमा नै नेपाली लायन्सकर्मीहरुको स्वभिमान उच्च बनाएको भन्दै लायन्सका पुराना लिडरहरुले खुलेर प्रशंशा गरेका थिए ।
कार्कीले सो अवसरमा आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काममा सहयोग गर्ने एवं निस्वार्थ रुपमा सेवा गर्नेहरुलाई पुरस्कृत गर्दै आफु सधै लायन्सको अभियानमा लागिरहने बताए । सबै लायन्सकर्मीहरुको साथ र सहयोगप्रति उनले आभार प्रकट गरे ।
प्रमुख अतिथिको रुपमा निम्ताईएका दमक नगर प्रमुख रामकुमार थापाले लायन्सको कामको बिषयमा आफु जानकार रहेको बताउदै नगरले विपन्नको क्षेत्रमा ल्याएका कार्यक्रम तथा योजनामा लायन्स क्ल्व तथा लायन्सकर्मीहरुको सहयोग एवं साथ रहने कुरामा आफु आशाबादी रहेको उल्लेख गरे ।
दमकका पौड्याल र राई बने उत्कृष्ठ
यसैबीच झापाको दमकलाई मुख्य केन्द्र बनाएर लायन्स अभियानको नेतृत्व गरेका ज्ञाननाथ पौड्याल डिस्ट्रिककै उत्कृष्ठ घोषित हुँदै पुरस्कृत बने । दमककै दिवस राई डिस्ट्रिककै सबैभन्दा उत्कृष्ठ जोन चियर पर्सन रहेको भन्दै सोहि अवसरमा पुरस्कृत गरिएको थियो ।
लायन्स ट्राफिक आईल्याण्ड जिर्णोद्धार

यसैबीच झापाको दमक ६ स्थित शब्जि बजार नजिक दमक बेलडाँगी सडकमा लायन्स क्लव अफ झापा दमकको संयोजनमा दमकका सम्पूर्ण क्लवहरुको आयोजनामा ट्राफिक आईल्याण्डको जिर्णोद्धार सहित उक्त ठाँउको नाम लायन्स चोक राखिएको छ । गर्भनर रेवतबहादुर कार्कीले यसको उद्घाटन सहित दमकमा लायन्सको पहिचानका लागि उक्त क्षेत्रको नाम लायन्स चोक राखिएको प्रति आभार प्रकट गरे ।
दमकका लायन्स लिडर अजयकुमार अग्रवालले लायन्स क्लवले केहि बर्ष अघि राखेको ट्राफिक आईल्याण्ड जिर्ण बनेकाले यसको जिर्णोद्धार गरिएको बताए । सबैले लायन्स चोक भन्न थालेकाले र यस ठाँउको नामकरण नै नभएकाले सबैले चिन्न सक्ने गरी लायन्स चोक नामकरण गरिएको जनाए ।
लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले लायन्स क्लवहरुले दुर्घटना न्यूनिकरण लगायत समाजमा रहेका समस्या र अप्ठेरोमा सधै साथमा रहेको जनाए ।

