दमक नगरपालिकाको ११ औ नगर सभाको दोश्रो वैठकमा भाँडभैलो ! केहिबेर भनाभन्
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाको ११ औ नगर सभामा भाँडभैलो भएको छ । सोमबार दिउसो सौहार्दपुर्ण रुपमा नगर सभा शुरु भएको केहिबेरपछि नै विवाद शुरु भएको हो । नगर प्रमुख तथा नगर सभा बैठकका सभाध्यक्ष रामकुमार थापाले नगर सभा सदस्यहरुलाई नीति तथा कार्यक्रम र बजेटको बिषयमा ५ मिनेट बोल्न समय दिएका थिए । नगर सभामा पहिलाजस्तो राजनीतिक दल तथा अन्य प्रतिनिधिहरुको खासै सहभागिता रहेको थिएन ।
वडा नं. ६ का वडा सदस्य कमल श्रेष्ठले आफुले लिखित रुपमा ल्याएका सुझाव तथा बिषयहरु राख्न पाउनु पर्ने माग राख्दै समय नछुट्याउन आग्रह गर्दै आफ्ना माग राख्दै गर्दा ५ मिनेट भएपछि नगर प्रमुख थापाले रोक्न खोजे । श्रेष्ठले आफुले भन्न पाउनु पर्ने भन्दै झण्डै ४ मिनेट त्यहि बिषयमा विवाद चल्यो । नगर प्रमुख थापाले थप बोल्न नदिने र श्रेष्ठले बोल्न पाउनु पर्ने भन्दै अड्डी कसेका थिए ।
नाम टिपाएकाले बोलिसकेपछि नगर उपप्रमुख रेगिना भट्टराईले नीति तथा कार्यक्रम र बजेट पास गर्न राखेको प्रस्तावमा मत बिभाजनको क्रममा फेरी विवाद भएको हो । पास गर्ने पक्षमा झिनो आवाज आएपछि केहि कुरा राख्न भन्दै नेकपा एमालेबाट निर्वाचित भएका नगर सभा सदस्यहरुले हात उठाएका थिए । नगर प्रमुखले नीति तथा कार्यक्रम र बजेट पास भएको भनेपछि विवाद चर्किएको थियो । मत बिभाजन गर्नका लागि नगर सभा सदस्यहरुले माग उठाउदै नगर प्रमुख थापाको अगाडि आएर प्रर्दशन शुरु गरेपछि नगर प्रमुख र नगर सभा सदस्यहरुबीच दोहोरो भनाभन शुरु भएको थियो ।
नगर सभा वैठक शुचारु हुन नसकेपछि स्थगीत भएको छ । नगर प्रमुख थापाले असार २९ गतेसम्मका लागि नगर सभाको बैठक स्थगीत गरिएको बताएका थिए । नगर प्रमुखले नगर सभा वैठक अघि कार्यापालिका वैठक बोलाएर नीति तथा कार्यक्रममा आएका सुझाव तथा बिषयबस्तुहरुमा छलफल गर्नु पर्नेमा त्यो नगरेको वडा नं. ३ का वडाध्यक्ष नविन बरालले बताए । नियम संगत जाने बिषयमा हामीहरुलाई कुनै आपत्ती छैन तर विधि र प्रक्रिया त मान्नु पर्छ भन्ने हाम्रो भनाई हो, उनले भने ।

