सहकारीहरु सदस्यहरुको नियण्त्रण बाहिर ! सदस्यहरुको वेवास्थाले डुब्ने खतरा
मैले जे देखे त्यहि लेखेँ
विष्णुप्रसाद पोखरेल
पछिल्ला समयमा एकपछि अर्को सहकारी संस्था संकटग्रस्त भएका समचारहरु आइरहेकाछन् । विशेष गरेर राम्रो कुराहरु फैलन धेरै समय लाग्छ तर खराब कुरा फैलन कति समय पनि लाग्दैन । कुनै पनि सेता कपडामा एउटा सानो कालो धम्बा देखियो भने सेतो भागमा आँखा जाँदैन र त्यहि कालो भागमा आँखा जान्छ । सहकारीहरुको अवस्था पनि सायदै यहि हुनसक्छ । तर के सहकारीहरु सहकारीकै सिद्धान्त अनुसार चलेकाछन् त ? यो भने बिचणिय छ ।
सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। तर यस्तै छ त ? पक्कै यो कमैले मात्रा महसुस गरेको हुनुपर्छ ।
अैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी र ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। तर सहकारी अहिले बैंक जस्तै हुन थालेकाछन् । पछिल्लो समय सिमिति समुह वा बर्गको मुठ्ठिमा सहकारीहरु पर्न थालेकाछन् भन्दा फरक नपर्ला । झापा सहित दमकमा पनि कतिपय सहकारी संस्थाहरु संकटग्रस्त भएको भन्ने भित्रभित्रै चर्चा भइरहेको छ । यद्यपी अहिलेसम्म यो बिषय सार्वजनिक भएको छैन । दमकलाई हेर्ने हो भने मात्र पनि कतिपय सहकारी संस्थाहरुले सदस्यहरुले जम्मा गरेको रकम करोडौ जग्गामा लगानी गरेकाछन् । सिमित मान्छेको वरिपरि करोडौ लगानी भएको छ । जहाँ सहकारीका ब्यवस्थापक तथा ब्यवस्थापकीय कर्मचारीहरुको प्रत्यक्ष/अप्रत्यक्ष लगानी पनि छ ।
सहकारीले करोडौको जग्गा तथा भौतिक संरचनामा लगानी गरेकाछन् । वैंकजस्तै गरेर सिमित घनाड्य ब्याक्तिहरु सहकारीका ॠणि रहेकाछन् । जसले गर्दा भोली पसिना बगाएर सानोसानो ब्यापार गरेर समुन्नत भविष्यका लागि बचत गरेकाहरुको रकम डुब्न सक्छ । यस बिषयमा स्थानीय सरकार र सरोकारवालाहरु गम्भिर हुनु पर्दछ । सहकारीहरुले भौतिक तथा अचल सम्पतीमा कति/कति लगानी गरेकाछन् र के आधारमा गरेकाछन् ? यो अब सार्वजनिक हुनुपर्छ र सहकारीहरुले सार्वजनिक गर्नु पर्छ ।
दमक लगायत झापा र देशभर नै सहकारी संस्थाहरु सदस्यहरुभन्दा ब्यवस्थपकीय अर्थात कर्मचारीहरुको भरमा चलेकाछन् भन्दा गलत नहोला । किनकी सहकारीका सदस्य साधरण सभामा एकदिन पुग्छ र त्यहाँ दिइने यातायात खर्च बाहेक उसले खास अरु बुझेको हुँदैन । सहकारीले प्रतिवेदनमा किताव बनाएर ल्याएको हुन्छ र त्यो जस्ताको त्यस्तै पास हुन्छ । यसमा सहकारीका केहि टाढाबाठा अर्थात सञ्चालक समितिमा रहेकाहरु र ब्यवस्थापकीय अर्थात कर्मचारीहरुको भावानामात्र बिम्बित भएको हुन्छ ।
फेरी पनि सबै सहकारीहरुले बद्मासी तथा मनपरी गरेकाछन् भन्ने छैन । कमैले मात्र सहकारीको सिद्धान्त र मर्म तथा कानूनले भने अनुसार गरेकाछन् । बिषयगत सहकारीहरुले आफ्नो मूल मर्म अनुसार समेत काम गरेको देखिदैन । बैंकले जसरी लगानी गर्छन् त्यसकै शिको सहकारीहरुले गरिरहेकाछन् । एउटा फरक छ त्यो भनेको सहकारीले बचत लिन तथा पैसा ंंसंकलन गर्नका लागि कर्मचारी पठाउछन् तर वैंकले पठाउदैनन् । यो बाहेक खास धेरै भिन्नता छैन ।
सहकारी सहकारी कै मूल्य र मान्यता अनुसार चल्नु पर्छ । सहकारीले नाफा धेरै कमाउने भन्दा पनि धेरै सदस्यहरुलाई कसरी रोजगार बनाउन सकिन्छ, कसरी आत्मनिर्भर बनाउन सकिन्छ, सहकारीका सदस्यहरुको आर्थिक, सामाजिक अवस्था सुधार गर्न सकिन्छ सोच्नु पर्छ । तर यो अवस्था छ त ? मैले भने यो देखेको छैन । यसमा सहकारीका सिमित सञ्चालक वा कर्मचारीको मात्र होइन सदस्यहरु पनि जिम्मेवार बन्नु पर्नेमा त्यो भने देखिदैन । सहकारीका साधरण सभा औपचारिकतामा सिमित बन्दा सहकारीहरु ट्रयाक बाहिर गएकाहुन भन्ने मेरो बुझाई र देखाई छ ।
दमकमा केहि समय अघि एउटा सहकारीका अगुवाहरुको छलफलमा मैले सहकारी र बैंकमा के फरक छ ? सहकारी बैंक जसरी चल्ने की फरक तवरले अर्थात सहकारी जसरी नै चल्ने कुरा उठाउदा अधिकाँश सहकारीका अगुवाहरुले सहकारीहरुले वैंक जसरी चल्ने भएर सहकारीको बोर्ड फ्याक्नु पर्ने बताएका थिए । मेरो बुझाइ थियो कि यसको अर्थ सहकारी सहकारी जसरी नै चल्नु पर्छ । अति विपन्न, बिपन्न, मध्यम देखि लिएर केहि आर्थिक उन्नती गरेकाहरु सबैको साझा बन्नुपर्छ । के यस्तो अवस्था छ त ? पक्कै छैन ।

